विपक्षीको अवरोध जारी, प्रतिनिधिसभा बैठक भोलि दिउँसो १ बजेसम्मका लागि स्थगित

0
Shares

काठमाडौं । विपक्षी दलहरूको निरन्तर अवरोधका कारण प्रतिनिधिसभा बैठक भोलिसम्मका लागि स्थगित गरिएको छ। सभामुख डीपी अर्याल ले बैठक सञ्चालन गर्ने प्रयास गरे पनि विपक्षी सांसदहरूले विरोध जारी राखेपछि सुरुमा १५ मिनेटका लागि स्थगित गरिएको बैठक पछि सूचना टाँसेर भोलि दिउँसो १ बजेसम्मका लागि सारिएको हो।

प्रधानमन्त्री बालेन शाह ले हालै दिएको विवादास्पद अभिव्यक्तिलाई लिएर विपक्षी दलहरूले संसद् अवरोध गर्दै आएका छन्। विपक्षीको माग अनुसार प्रधानमन्त्रीले आफ्नो अभिव्यक्ति फिर्ता लिनुका साथै संसद्मा उपस्थित भएर माफी माग्नुपर्ने अडान कायम रहेको छ।

बैठकमा विपक्षी सांसदहरूले आ–आफ्नो स्थानबाट उठेर विरोध जनाएपछि सभामुखले दलहरूबीच संवादमार्फत सहमति खोज्न आग्रह गरेका थिए। विपक्षी दलहरूले पनि राजनीतिक सहमतिबाट निकास खोज्न सभामुखको भूमिका सक्रिय बनाउन आग्रह गरेका छन्।

संसद्को गतिरोध अन्त्य गर्ने प्रयासस्वरूप आजै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने को पहलमा सर्वदलीय छलफल भएको थियो। छलफलमा सत्ता पक्ष र विपक्षी दलका प्रतिनिधिहरू सहभागी भए पनि विवादित विषयमा सहमति जुट्न नसकेको स्रोतले जनाएको छ।

सत्ता पक्षले संसद्को नियमित कामकारबाही सञ्चालन गर्नुपर्नेमा जोड दिएको छ भने विपक्षी दलहरूले प्रधानमन्त्रीबाट स्पष्ट धारणा नआएसम्म आफ्नो विरोध नरोकिने संकेत दिएका छन्। सहमति प्रयास असफल भएपछि संसद्को गतिरोध तत्काल अन्त्य हुने सम्भावना कमजोर देखिएको छ।

प्रतिनिधिसभाको अर्को बैठक भोलि दिउँसो १ बजे बस्ने तय गरिएको छ। त्यसअघि सत्ता पक्ष र विपक्षी दलहरूबीच थप संवाद हुने सम्भावना रहेको संसद् सचिवालयले जनाएको छ।