वैदेशिक रोजगार व्यवसायी संघमा डिकबहादुर खत्रीको प्यानलको वर्चस्व, अध्यक्षसहित अधिकांश पदमा विजय


काठमाडौं ।

नेपाल वैदेशिक रोजगार व्यवसायी संघको नयाँ नेतृत्वका लागि सम्पन्न निर्वाचनमा डिकबहादुर खत्री (कुमार) अध्यक्षमा निर्वाचित भएका छन्। नेकपा एमाले निकट प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च, नेपाली कम्युनिस्ट पार्टी निकट गणतान्त्रिक मञ्च तथा नेपाली कांग्रेस निकट केही व्यवसायीहरूको संयुक्त प्यानलबाट उम्मेदवारी दिएका खत्रीले स्पष्ट मतान्तरसहित विजय हासिल गरेका हुन्।

अन्तिम मतपरिणामअनुसार खत्रीले ३४७ मत प्राप्त गर्दै अध्यक्ष पदमा विजयी भए। उनका निकटतम प्रतिस्पर्धी नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनका तर्फबाट उम्मेदवार बनेका मेघनाथ भुर्तेलले १९२ मत प्राप्त गरे भने राष्ट्रिय स्वतन्त्र पार्टी निकट स्वतन्त्र व्यवसायी समूहका हरिबहादुर पाण्डे क्षेत्रीले १७० मत पाए।

निर्वाचन परिणामले संयुक्त व्यवसायी समूहको स्पष्ट वर्चस्व देखाएको छ। पदाधिकारीतर्फ प्रथम उपाध्यक्षमा महेश बस्नेत २४१ मतसहित निर्वाचित भए भने द्वितीय उपाध्यक्षमा अनिल बोगटी ३१५ मत र तृतीय उपाध्यक्षमा लक्ष्मण पौडेल २५९ मतसहित विजयी भए।

त्यसैगरी महासचिवमा हरि डाँगी २७३ मत, सचिवमा केदारनाथ अधिकारी २९४ मत तथा कोषाध्यक्षमा धनमाया सिन्जाली ३२३ मत प्राप्त गरी निर्वाचित भएका छन्।

१७ सदस्यीय कार्यसमितिको नतिजाले पनि प्रगतिशील प्यानलको बलियो उपस्थिति देखाएको छ। सात पदाधिकारीमध्ये छ पदमा उक्त समूहले जित हात पारेको छ भने १० कार्यसमिति सदस्यमध्ये आठ सदस्य निर्वाचित भएका छन्।

यद्यपि नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनले तृतीय उपाध्यक्ष पदमा लक्ष्मण पौडेलसहित सदस्यहरू गीता राउत र दीक्षा दाहाललाई निर्वाचित गराउन सफल भएको छ।

निर्वाचन परिणाम सार्वजनिक भएसँगै नवनिर्वाचित अध्यक्ष खत्रीले वैदेशिक रोजगार क्षेत्रका समस्या समाधान, व्यवसायलाई थप व्यवस्थित बनाउने तथा व्यवसायीहरूको हकहित संरक्षणलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। नयाँ नेतृत्व चयनसँगै वैदेशिक रोजगार क्षेत्रका नीति, सुधार र व्यवसायीहरूको साझा एजेन्डामा संघको भूमिका थप प्रभावकारी बन्ने अपेक्षा गरिएको छ।