काठमाडौं।
सिरहा जिल्लामा एसईई र कक्षा १२ को परीक्षाका क्रममा परीक्षा हलभित्र मोबाइल फोन लिएर प्रवेश गरेका विद्यार्थीहरूबाट जफत गरिएका ४९६ वटा मोबाइल जिल्ला प्रहरी कार्यालय सिरहाले नष्ट गरेको छ।
परीक्षाको मर्यादा उल्लङ्घन रोक्न मधेश प्रदेशका शिक्षा तथा संस्कृति मन्त्री रानी शर्मा तिवारीको निर्देशनअनुसार कारबाही गरिएको जिल्ला परीक्षा समन्वय समितिले जनाएको छ। समितिको निर्णयअनुसार पाँच सदस्यीय उपसमितिको समन्वयमा ती मोबाइल तथा स्मार्टवाचहरूलाई २४ घण्टा पानीमा डुबाएर प्रयोग गर्न नसकिने अवस्थामा पुर्याई नष्ट गरिएको हो।
नष्ट गरिएका सामग्रीमा ७ वटा आइफोन, ४८९ वटा एन्ड्रोइड मोबाइल र ५ वटा स्मार्टवाच रहेका छन्, जसको कुल मूल्य करिब एक करोड रुपैयाँभन्दा बढी अनुमान गरिएको छ।
घटनापछि सामाजिक सञ्जालमा मिश्रित प्रतिक्रिया देखिएको छ। केहीले यसलाई अनुशासन कायम गर्न कडा कदम भनेका छन् भने केहीले नष्ट गर्नुको सट्टा जरिवाना वा अन्य विकल्प अपनाउनुपर्ने धारणा राखेका छन्। आगामी वर्षका परीक्षामा मोबाइल प्रयोग नियन्त्रण अझ कडा हुने अपेक्षा गरिएको छ।











प्रतिक्रिया