विश्व वातावरण दिवसमा रानीवनमा १०० स्थानीय सुनाखरी पुनःस्थापना


काठमाडौं ।

विश्व वातावरण दिवस २०२६ को अवसरमा अर्किड फ्लोरिकल्चर ग्रुप (OFG) को संयोजन तथा अन्नपूर्ण अनुसन्धान केन्द्र को सहभागितामा काठमाडौं महानगरपालिका–लाजिम्पाटस्थित रानीवारी सामुदायिक वन मा स्थानीय सुनाखरी पुनःस्थापना कार्यक्रम सम्पन्न भएको छ।

“रैजाने अर्किडहरूलाई उनीहरूको आफ्नै बासस्थानमा पुनर्स्थापित गर्दै” नारासहित आयोजित कार्यक्रममा करिब ३० जना सक्रिय तथा समर्पित सुनाखरी प्रेमीहरूको सहभागिता रहेको थियो। कार्यक्रममा नेपालमा पाइने करिब ५०० स्थानीय सुनाखरी प्रजातिमध्ये ३० जातका करिब १०० वटा सुनाखरी रानीवनका विभिन्न रुखहरूमा टाँस्ने (पुनःस्थापना) कार्य गरिएको थियो।

कार्यक्रमका आयोजकहरूले विकास निर्माण, सडक विस्तार, विद्युत् प्रसारण लाइन तथा वन विनाशका कारण प्राकृतिक बासस्थान गुमाउँदै गएका स्थानीय सुनाखरीहरूलाई संरक्षण गरी पुनः जंगलमै स्थापित गर्ने उद्देश्यले अभियान सञ्चालन गरिएको बताएका छन्। घरमा संरक्षण र संवर्द्धन गरिएका स्थानीय सुनाखरीलाई पुनः प्राकृतिक वातावरणमा हुर्काउने यस अभियानले जैविक विविधता संरक्षणमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास लिइएको छ।

OFG ले गत वर्ष पनि विश्व वातावरण दिवसकै अवसरमा रानीवनमा यस्तै सुनाखरी रोपण कार्यक्रम सञ्चालन गरेको थियो। संस्थाले रानीवनलाई भविष्यमा “सुनाखरी रानीवन” का रूपमा विकास गर्ने दीर्घकालीन लक्ष्यसहित संरक्षण अभियानलाई निरन्तरता दिने जनाएको छ।