स्थानीय कृषकलाई दुई हजार बढी एवोकाडोको विरुवा

1.13k
Shares

दोलखा ।

विश्व वातावरण दिवसको अवसरमा दोलखाको गौरीशङ्कर गाउँपालिका र डिभिजन बन कार्यालयको सहयोग तथा रिभोलुसनरी एग्रीकल्चर वारको प्रवद्धनमा हाम्रो बगैचा नर्सरी फलफुल तथा जडिबुटी बहुउदेश्य अनुसन्धान केन्द्रले दुई हजार भन्दा बढी एवोकाडोको विरुवा स्थानीय कृषकहरुलाई वितरण गरेको छ ।

केन्द्रले दोलखाको गौरीशङ्कर गाउँपालिका वडा नम्बर– ३ र ४ का स्थानीय कृषकलाई दुई हजार छ सय वटा एवोकाडोको विरुवा वितरण गरेको केन्द्रका सञ्चालक जंगबहादुर गुरुङले बताए ।

स्थानीय कृषकलाई उत्पादनमुखी कृषि तथा वातावरण संरक्षणसंग जोड्ने उदेश्यले गौरीशङ्कर गाउँपालिका वडा नम्बर– ३ र ४ मा पर्ने झ्याकुको सर्सेपु, डिकार्पु, यार्सा, गोर्पाङ र ज्याङबारीङका पाँच सय २० घर धुरीलाई उक्त विरुवा वितरण गरिएको केन्द्रका सञ्चालक गुरुङको भनाई छ ।

हाम्रो बगैचा नर्सरी फलफुल तथा जडिबुटी बहुउदेश्य अनुसन्धान केन्द्रले अब युवा खाडीमा हैन बारीमा भन्ने नारा सहित स्थानीय कृषकलाई व्यवसायीक उत्पादन तर्फ आकर्षित गर्ने अभियान अन्र्तगत बिभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको बताए ।

विरुवा वितरण कार्यक्रममा एवोकाडोको विरुवाले फल दिन थालेपछि सबैभन्दा बढी फल उत्पादन गर्ने किसान वा संस्थालाई गौरीशङ्कर गाउँपालिका र केन्द्रले संयुक्त रुपमा १० हजार रुपैया प्रोत्साहन पुरस्कार दिने घोषणा समेत गरिएको छ ।

अनुसन्धान केन्द्रका सञ्चालक जंगबहादुर गुरुङको सभापतित्वमा सम्पन्न विरुवा वितरण कार्यक्रममा गौरीशङ्कर गाउँपालिकाका अध्यक्ष विश्वास कार्की, उपाध्यक्ष उमा लुङ्गेली मगर शेर्पा, डिभिजन बन कार्यालयमा प्रमुख अनिल रेग्मी, रिभोलुसनरी एग्रीकल्चर वारका निर्देशक शैलेश कडेँल, वडा अध्यक्ष युगबहादुर वस्नेत र शिवहरि खत्रीको सहभागिता रहेको थियो ।