क्यान्सर उपचारमा प्रयोग हुने कार्बोप्लाटिन अभाव टर्ने संकेत, चार हजार भाइल थप आयात हुँदै


काठमाडौं।

क्यान्सर रोगको उपचारमा अत्यावश्यक मानिने कार्बोप्लाटिन इन्जेक्सनको अभावका कारण चिन्तित बिरामी र तिनका परिवारलाई राहत दिने गरी आगामी केही दिनभित्र थप चार हजार भाइल औषधि नेपाल आइपुग्ने भएको छ। नेपालका दुई औषधि आयातकर्ता कम्पनीले भारतबाट ठूलो परिमाणमा कार्बोप्लाटिन आयात गर्ने प्रक्रिया अघि बढाएपछि पछिल्लो समय देखिएको अभाव केही हदसम्म समाधान हुने अपेक्षा गरिएको छ।

दश दिनअघि आयान लाइफ केयरले बंगलादेशबाट केही सय भाइल कार्बोप्लाटिन इन्जेक्सन आयात गरेपछि तत्कालीन अभाव केही समयका लागि टरेको थियो। तर, आयात गरिएको औषधि छोटो समयमै सकिएपछि देशभरका क्यान्सर बिरामी पुनः उपचारको निरन्तरताबारे चिन्तित बनेका थिए। विशेषगरी सरकारी तथा निजी क्यान्सर उपचार केन्द्रहरूमा औषधि खोज्दै बिरामीका आफन्तहरू भौंतारिन थालेका थिए।

यहीबीच शुक्रबार साँझ प्राप्त जानकारीअनुसार नेपालका दुई प्रमुख औषधि आयातकर्ता कम्पनीले भारतबाट थप परिमाणमा कार्बोप्लाटिन ल्याउने तयारी गरेका छन्। नेपाल औषधि आयातकर्ता संघका अध्यक्ष पवन आचार्यका अनुसार पुराना तथा स्थापित आयातकर्ता कम्पनीहरूले विशेष पहल गरी औषधि आपूर्ति सुनिश्चित गर्न सफल भएका हुन्।
उनका अनुसार यतिकेम डिस्ट्रिब्युटर्सले शनिबार बेलुकासम्म हवाईमार्गबाट १५० मिलिग्राम क्षमताका ५०० भाइल कार्बोप्लाटिन काठमाडौं ल्याउने तयारी गरेको छ। त्यसैगरी ताज नेपालले ४५० मिलिग्राम क्षमताका १ हजार ४ सय भाइल तथा १५० मिलिग्राम क्षमताका २ हजार १ सय भाइल गरी कुल ३ हजार ५ सय भाइल कार्बोप्लाटिन भारतबाट आयात गरिरहेको छ। स्थलमार्ग हुँदै ल्याइँदै गरिएको उक्त औषधि मंगलबारसम्म काठमाडौं आइपुग्ने अपेक्षा गरिएको छ।
“अघिल्लो पटक देखिएको अभावलाई बंगलादेशबाट औषधि ल्याएर व्यवस्थापन गरेका थियौं। अहिले पनि भारतका विभिन्न उत्पादक कम्पनीहरूसँग विशेष समन्वय गरेर थप औषधि ल्याउने व्यवस्था मिलाएका छौं,” अध्यक्ष आचार्यले भने, “नागरिकको उपचारमा कुनै अवरोध नहोस् भन्ने उद्देश्यले आयातकर्ताहरू रातदिन खटिएका छन्।”

पछिल्लो समय क्यान्सर उपचारमा प्रयोग हुने कार्बोप्लाटिन र सिस्प्लाटिनजस्ता औषधिको आपूर्तिमा देखिएको समस्याले स्वास्थ्य क्षेत्रको ध्यान आकर्षित गरेको छ। औषधि व्यवस्था विभागले समेत यस विषयलाई गम्भीर रूपमा लिँदै आयातकर्ता कम्पनीहरूसँग औषधिको मौज्दात, आयात अवस्था तथा बजार उपलब्धताबारे विवरण माग गरेको थियो।

विभागकी निमित्त महानिर्देशक शिवानी खड्गीले एक दिनअघि आयातकर्ताहरूसँग छलफल गर्दै अभाव देखिएका कार्बोप्लाटिन र सिस्प्लाटिन इन्जेक्सन तत्काल आयात गरी आपूर्ति सहज बनाउन आग्रह गरेकी थिइन्। विभागको आग्रहपछि आयातकर्ताहरूले विभिन्न अन्तर्राष्ट्रिय आपूर्तिकर्तासँग सम्पर्क गरी वैकल्पिक स्रोत खोजेका थिए।

“हामीले विभागको अनुरोधलाई पनि ध्यानमा राखेर विभिन्न विकल्प र सम्भावनाहरूको खोजी गर्यौं,” आचार्यले भने, “अहिलेका लागि कम्तीमा तत्काल देखिएको अभाव हटाउन सफल हुनेमा हामी विश्वस्त छौं।”

क्यान्सर उपचारमा प्रयोग हुने औषधिको अभावबारे सरकार पनि संवेदनशील देखिएको छ। शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहताले औषधि व्यवस्था विभागको निरीक्षण गर्दै कार्बोप्लाटिन र सिस्प्लाटिनको आयात, मौज्दात तथा वितरण अवस्थाबारे जानकारी लिएकी थिइन्। उनले क्यान्सर बिरामीलाई आवश्यक औषधिको आपूर्तिमा कुनै अवरोध आउन नदिन विभागलाई सक्रिय भूमिका खेल्न निर्देशन दिएकी स्रोतले जनाएको छ।

नेपालमा क्यान्सरका बिरामीहरूको संख्या बढ्दै गइरहेका बेला उपचारका लागि आवश्यक जीवनरक्षक औषधिको नियमित आपूर्ति सुनिश्चित गर्नु स्वास्थ्य प्रणालीका लागि चुनौतीपूर्ण बन्दै गएको छ। यद्यपि, आगामी केही दिनभित्र ठूलो परिमाणमा कार्बोप्लाटिन नेपाल भित्रिने भएपछि तत्कालका लागि बिरामी र स्वास्थ्य संस्थाहरूले राहत महसुस गर्ने अपेक्षा गरिएको छ।