हिमालय एअरलाइन्सको काठमाडौँ–शेन्जेन सिधा उडान सेवा सुरु


काठमाडौं ।

नेपाल–चीनबीचको हवाई सम्पर्कलाई थप सुदृढ बनाउने उद्देश्यसहित हिमालय एअरलाइन्सले काठमाडौँ–शेन्जेन–काठमाडौँ सिधा उडान सेवा सुरु गरेको छ।

एअरलाइन्सले जुन ४, २०२६ देखि नेपालको राजधानी काठमाडौं र चीनको ‘सिलिकन भ्याली’का रूपमा परिचित शेन्जेनबीच साप्ताहिक दुई सिधा उडान सञ्चालनमा ल्याएको जनाएको छ। कम्पनीका अनुसार यो सेवा नेपालको नागरिक उड्डयन इतिहासमा महत्वपूर्ण उपलब्धि मानिएको छ।

हिमालय एअरलाइन्सको पहिलो काठमाडौँ–शेन्जेन उडान ९८ यात्रुसहित जुन ४ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रस्थान गरी जुन ५ को बिहान शेन्जेन बाओआन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो। त्यसैगरी, शेन्जेन–काठमाडौंको पहिलो फिर्ता उडान १५७ यात्रुसहित शेन्जेनबाट प्रस्थान गरी सोही दिन काठमाडौं आइपुगेको कम्पनीले जनाएको छ।

नयाँ तालिकाअनुसार काठमाडौंबाट शेन्जेनका लागि प्रत्येक मङ्गलबार र बिहीबार उडान हुनेछ भने शेन्जेनबाट काठमाडौंका लागि बुधबार र शुक्रबार उडान सञ्चालन गरिनेछ।

एअरलाइन्सका अनुसार नयाँ सेवाले नेपाल र चीनबीचको पर्यटन, व्यापार तथा जनस्तरको सम्बन्धलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ। साथै यात्रुहरूलाई सहज, सुरक्षित र आरामदायी यात्रा विकल्प उपलब्ध गराउने लक्ष्य पनि राखिएको छ।

सन् २०१४ मा स्थापना भएको हिमालय एअरलाइन्स नेपाल–चीन संयुक्त लगानीको अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी हो। हाल कम्पनीसँग चार वटा विमान रहेका छन् र यसले चीन, कतार, साउदी अरेबिया, कुवेत, संयुक्त अरब इमिरेट्स, मलेसिया तथा बङ्गलादेशलगायतका गन्तव्यमा नियमित उडान सेवा सञ्चालन गर्दै आएको छ।

हिमालय एअरलाइन्सले विभिन्न अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणीकरण तथा पुरस्कार प्राप्त गरिसकेको छ। कम्पनीले यात्रु सुरक्षा, गुणस्तरीय सेवा र समयपालनलाई प्राथमिकतामा राख्दै आफ्नो सेवा विस्तार गरिरहेको जनाएको छ।