काठमाडौं ४ वडा स्तरीय दौड प्रतियोगिता शनिबार हुने


काठमाडौं ।

काठमाडौं महानगरपालिका वडा नं.४ स्तरीय दौड प्रतियोगिताको पाँचौं संस्करण शनिबार हुँदैछ।

प्रतियोगितामा चार सय बढी धावकले प्रतिस्पर्धा वडाध्यक्ष दिनेश महर्जनले जानकारी दिएका छन् । वडाध्यक्ष महर्जनले भने, ‘पाँचौंपल्ट आयोजना गर्न लागिएको वडा स्तरीय दौड प्रतियोगिताले वडाबासीलाई एउटै स्थलमा जुटाउने गरेको छ । त्यसैले यसपाली उत्साहजन रुपमा एक सय ९० विद्यार्थीसहित ४ सय बढीले नाम दर्ता गरेका छन् ।’ दौड प्रतियोयोगितामा खुला, ५५ वर्षमाथिको भेट्रान र कक्षा १० सम्मका विद्यार्थीतर्फ महिला र पुरुष गरी कुल ६ स्पर्धा समावेश गरिएको पनि उनले बताए ।

कुल एक लाख आठ हजार रुपियाँ पुरस्कारको दौड प्रतियोगितामा खुलातर्फका धावक ५ किमि दौडनेछन् भने भेट्रान र विद्यार्थीहरू ३ किमि दूरीमा प्रतिस्पर्धा गर्नेछन् । ५ किमि दौड विशालनगरस्थित विशाल मिलन केन्द्रबाट सुरु भई चण्डौल, फिनल्यान्ड दूतवास, खहरे, धुमवाराही चौक, शंख पार्क, लामटंगिन मार्ग, चुनदेवी, पञ्चकन्या टुँडालदेवी हुँदै पुनः विशाल मिलन केन्द्र पुगेर टुंगिनेछ ।

त्यस्तै, ३ किमि दौड पनि विशाल मिलन केन्द्रबाटै प्रारम्भ भएर टुँडालदेवी, कालिबुढी चौक, पञ्चकन्या, चुनदेवी, गणेश वस्ती, अरुणा लामा मार्ग, ढुंगेधारा हुँदै विशाल मिलन केन्द्र फर्केर सकिनेछ । प्रत्येक स्पर्धामा विजेताले आठ हजार, दोस्रोले छ हजार र तेस्रो हुनेले चार हजार रुपिया, मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ ।