नेपालमा नयाँ पुस्ताको विद्युतीय एसयूभी ल्याउने तयारीमा जीडब्लुएम


काठमाडौं।

विश्व अटोमोबाइल उद्योगमा नवीन प्रविधि, गुणस्तरीय उत्पादन र दिगो गतिशीलताका लागि परिचित GWM ले नेपाली बजारमा नयाँ पुस्ताको अत्याधुनिक विद्युतीय एसयूभी ल्याउने तयारी गरेको छ।

विश्वका १७० भन्दा बढी देश तथा क्षेत्रमा आफ्नो उपस्थिति विस्तार गरिसकेको जीडब्लुएमले नेपालका लागि नयाँ विद्युतीय एसयूभी सार्वजनिक गर्ने संकेत दिएको हो। कम्पनीले हालसम्म मोडलको औपचारिक घोषणा नगरे पनि प्रारम्भिक विवरण सार्वजनिक भएपछि विद्युतीय सवारीसाधन पारखी र अटोमोबाइल क्षेत्रका सरोकारवालामाझ उत्सुकता बढेको छ।

प्राप्त जानकारीअनुसार आगामी विद्युतीय एसयूभीमा करिब ५२० किलोमिटरसम्मको ड्राइभिङ रेन्ज, स्मार्ट डिजिटल प्रविधि, अत्याधुनिक सुरक्षा प्रणाली तथा आधुनिक ड्राइभिङ अनुभव प्रदान गर्ने विभिन्न सुविधा समावेश हुनेछन्। आकर्षक डिजाइन, प्रिमियम बाह्य संरचना, विशिष्ट लाइटिङ सिग्नेचर तथा आधुनिक सौन्दर्यशास्त्रले यसलाई बजारमा अलग पहिचान दिने अपेक्षा गरिएको छ।

यसमा बहु–तह सुरक्षात्मक कोटिङ प्रविधि प्रयोग गरिएको बाह्य सतह रहने बताइएको छ, जसले सामान्य खालका स्क्र्याचहरू सूर्यको तापबाट स्वाभाविक रूपमा पुनःस्थापित गर्न सक्ने क्षमता राख्ने चर्चा बजारमा छ। यसले गाडीको बाह्य सौन्दर्य र चमक लामो समयसम्म कायम राख्न मद्दत पुग्ने विश्वास गरिएको छ।

कम्पनीका अनुसार नयाँ विद्युतीय एसयूभीमा ३६० डिग्री सराउन्ड भ्यु क्यामेरा, ब्लाइन्ड स्पट मनिटरिङ, १८० डिग्री ट्रान्सपरेन्ट च्यासिस भ्यु, सात एयरब्याग, उन्नत स्वचालित सुरक्षा प्रणाली तथा २० भन्दा बढी एडास (एड्भान्स्ड ड्राइभर असिस्टेन्स सिस्टम) सुविधा उपलब्ध हुनेछन्।

त्यसैगरी स्मार्ट ककपिट, कफी ओएस ३.० एआई प्रणाली, वन–टच कन्ट्रोल, भेन्टिलेसनसहितको विद्युतीय रूपमा समायोजन गर्न मिल्ने चालक सिट, पाँच तहको ब्याट्री सुरक्षा प्रणाली तथा चार स्मार्ट ड्राइभिङ मोड जस्ता विशेषता पनि समावेश हुने जनाइएको छ।

नेपालमा विद्युतीय सवारीसाधनप्रतिको बढ्दो आकर्षण, चार्जिङ पूर्वाधारको विस्तार तथा वातावरणमैत्री यातायातप्रतिको सकारात्मक सोचका बीच जीडब्लुएमको आगामी विद्युतीय एसयूभीलाई बजारको अर्को महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ। कम्पनीले यस सम्बन्धमा थप जानकारी तथा औपचारिक घोषणा निकट भविष्यमा सार्वजनिक गर्ने जनाएको छ।