राष्ट्रपतिद्वारा १६औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन


काठमाडौँ ।  

राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय खेलकुद परिषद्द्वारा बुधवार आयोजित १६औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको समुद्घाटन गरेका छन् ।  

उदघाटन समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले वर्तमान युगमा खेलकुद केवल प्रतिस्पर्धा, पेसा, प्रख्याति र पहिचानका लागि मात्र सीमित नभएको स्पष्ट पारे । उनले खेलकुद व्यक्तिको सर्वाङ्गीण विकासको सशक्त माध्यम भएको उल्लेख गर्दै यसलाई अनुशासन, सहकार्य, नेतृत्व, आत्मविश्वास र राष्ट्रिय एकताको जग तथा आधारका रूपमा व्याख्या गरे । 

समारोहमा बोल्दै राष्ट्रपति पौडेलले विद्यालय तहदेखि नै खेल र शिक्षासँगको अन्तरसम्बन्ध र महत्त्वलाई एकसाथ अघि बढाउँदै खेल संस्कृतिको विकास र विस्तारका लागि यस्ता प्रतियोगितालाई सङ्घ, प्रदेश र स्थानीय स्तरमा सञ्चालन गर्न कञ्जुस्याइँ गर्न नहुने धारणा व्यक्त गरे ।