नेपाल एयरलाइन्सका कर्मचारी ५४ लाखभन्दा बढी विदेशी मुद्रासहित विमानस्थलबाट पक्राउ


काठमाडौँ।

नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) का एक कर्मचारी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब ५४ लाख ७१ हजार रुपैयाँ बराबरको स्वदेशी तथा विदेशी मुद्रासहित पक्राउ परेका छन् ।

अवैध रूपमा ठूलो परिमाणमा विदेशी मुद्रा विदेश लैजान खोजेको आरोपमा उनलाई सोमबार राति विमानस्थल प्रहरीले नियन्त्रणमा लिएको हो । विमानस्थल सुरक्षा कार्यालयका अनुसार पक्राउ पर्नेमा सुनसरीको गढी गाउँपालिका–१ स्थायी घर भई हाल काठमाडौंको बनस्थली बस्दै आएका ५० वर्षीय कमल नारायण विश्वास रहेका छन् ।

उनी विगत १६ वर्षदेखि नेपाल एयरलाइन्समा ग्राउण्ड इक्विपमेन्ट अपरेटर (जीईओ) का रूपमा कार्यरत छन् । प्रहरीका अनुसार विश्वास मलेसियाको क्वालालम्पुर जानका लागि बाटिक एयरको उडान नम्बर ओडी–१८१ मार्फत भिजिट भिसामा यात्रा गर्ने तयारीमा थिए । नियमित सुरक्षा जाँचका क्रममा उनको गतिविधि शंकास्पद देखिएपछि सामान र शरीरको विस्तृत खानतलासी गरिएको थियो ।

खानतलासीका क्रममा उनले बोकेको कालो रंगको लगेजभित्र रहेको फलामको कराई (फ्राइङ प्यान) मा अत्यन्त गोप्य रूपमा लुकाइएका विभिन्न देशका मुद्रा फेला परेको प्रहरीले जनाएको छ । प्रारम्भिक अनुसन्धानअनुसार मुद्रा तस्करीको उद्देश्यले विशेष तरिकाले लुकाएर विदेश लैजान खोजिएको आशंका गरिएको छ ।

बरामद गरिएका मुद्रामा १४ हजार ८५० अमेरिकी डलर, २ हजार ९७० ओमानी रियाल, २३ हजार ६३२ मलेसियन रिङ्गिट, ३ हजार ५४० पाकिस्तानी रुपैयाँ, ७ हजार ७७० श्रीलंकाली रुपैयाँ, ४१ हजार जापानी येन, १ हजार पश्चिम अफ्रिकी फ्राङ्क तथा ११ ला ख नेपाली रुपैयाँ रहेका छन् । प्रहरीले गरेको मूल्यांकनअनुसार बरामद सम्पूर्ण मुद्राको नेपाली मूल्य ५४ लाख ७१ हजार ६ सय ८९ रुपैयाँ ३२ पैसा बराबर रहेको छ।

अनुसन्धानका क्रममा राहदानी जाँच गर्दा उक्त रकम विदेश लैजानका लागि आवश्यक कानुनी प्रक्रिया तथा विदेशी मुद्रा घोषणा (डिक्लेयरेसन) गरिएको कुनै अभिलेख फेला नपरेको विमानस्थल प्रहरीले जनाएको छ । नेपाल राष्ट्र बैंकको व्यवस्था अनुसार तोकिएको सीमाभन्दा बढी विदेशी मुद्रा विदेश लैजान कानुनी स्वीकृति तथा घोषणा अनिवार्य हुन्छ ।

घटनाको अर्को महत्वपूर्ण पक्ष भनेको कमल नारायण विश्वासको विदेश यात्राको विवरण हो। प्रहरीका अनुसार उनले यसअघि विभिन्न समयमा २६ पटक विदेश भ्रमण गरेको खुलेको छ । यसले घटनालाई थप रहस्यमय बनाएको भन्दै अनुसन्धान अधिकारीहरूले विगतका यात्रासमेत केलाउन थालेका छन् ।

प्रहरी स्रोतका अनुसार उनी एक्लै संलग्न थिए वा कुनै संगठित सञ्जालको सदस्यका रूपमा मुद्रा ओसारपसार गरिरहेका थिए भन्ने विषयमा अनुसन्धान केन्द्रित गरिएको छ। उनको विदेश यात्राको इतिहास, बैंकिङ कारोबार, सम्पर्क सञ्जाल तथा आर्थिक गतिविधिको समेत विस्तृत अध्ययन भइरहेको बताइएको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पछिल्लो समय सुन, विदेशी मुद्रा तथा अन्य अवैध सामग्री ओसारपसारका प्रयासहरू बढिरहेका बेला यो घटना पनि सुरक्षा निकायका लागि चासोको विषय बनेको छ। विशेषगरी विमानस्थलसँग प्रत्यक्ष सम्बन्धित संस्थामा कार्यरत कर्मचारी नै ठूलो परिमाणको विदेशी मुद्रासहित पक्राउ परेपछि सुरक्षा प्रणाली र आन्तरिक निगरानीमाथि समेत प्रश्न उठ्न थालेको छ।

पक्राउ परेका विश्वासलाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि राजस्व अनुसन्धान विभाग, हरिहरभवन पुल्चोक, ललितपुर पठाइएको छ। विभागले विदेशी मुद्रा अपचलन, अवैध ओसारपसार तथा सम्भावित हुण्डी कारोबारसँग सम्बन्धित कोणबाट अनुसन्धान अघि बढाउने जनाएको छ।

प्रहरीका अनुसार बरामद मुद्राको स्रोत, गन्तव्य तथा सम्भावित कारोबारी सञ्जालबारे अनुसन्धान जारी छ । अनुसन्धानबाट थप तथ्य बाहिरिएसँगै यस प्रकरणमा अन्य व्यक्तिहरूको संलग्नता पनि खुल्न सक्ने अनुमान गरिएको छ ।