पर्वत ।
पर्वतको कुश्मा नगरपालिका–२ अर्मादीमा ट्रक र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ।
पोखराबाट मुस्ताङतर्फ जाँदै गरेको ग१क २९२९ नम्बरको ट्रक र विपरीत दिशाबाट आउँदै गरेको ध२प ३८०५ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएका थिए। दुर्घटनामा मोटरसाइकल चालक जलजला गाउँपालिका–९ बनौ निवासी करिब ४० वर्षीय हिरा गर्बुजा र पछाडि सवार कुश्मा नगरपालिका–१ मालढुङ्गाका अन्दाजी ३५ वर्षीय सुजन भण्डारीको ज्यान गएको प्रहरीले जनाएको छ।
गम्भीर घाइते भएका दुवै जनालाई तत्काल उपचारका लागि प्रदेश अस्पताल पुर्याइएको थियो। तर उपचारकै क्रममा चिकित्सकले उनीहरूलाई मृत घोषणा गरेका थिए। दुर्घटनामा दुवै जनाको टाउको तथा शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ।
मृतकहरूको शव परीक्षणका लागि अस्पतालको शव गृहमा राखिएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक राजन पटेलले जानकारी दिए।
दुर्घटनापछि ट्रक चालक तनहुँको भिमाद नगरपालिका–२ निवासी करिब ३५ वर्षीय मनोज थापालाई ट्रकसहित प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।











प्रतिक्रिया