काठमाडौं।
सिद्धार्थ बैंक लिमिटेडले भूकम्प प्रभावित रुकुम पश्चिमस्थित एक विद्यालयको भवन पुनर्निर्माण गरी विद्यालय व्यवस्थापनलाई हस्तान्तरण गरेको छ।
बैंकको आर्थिक सहयोगमा कर्णाली प्रदेशको रुकुम पश्चिम जिल्ला, सानीभेरी गाउँपालिका–१ भण्डारवनस्थित श्री जनप्रिय आधारभूत विद्यालयको नयाँ भवन तथा सुलभ पहुँचयुक्त शौचालय निर्माण सम्पन्न भएपछि आइतबार औपचारिक रूपमा विद्यालयलाई हस्तान्तरण गरिएको हो।

वि.सं. २०८० साल कार्तिक १७ गते गएको भूकम्पबाट क्षतिग्रस्त विद्यालय भवन पुनर्निर्माण गरी सिद्धार्थ बैंकका प्रमुख कार्यकारी अधिकृत रामेश्वर प्रसाद बस्यालले भवन उद्घाटन गर्दै विद्यालयका प्रधानाध्यापक हसां बहादुर खड्कालाई हस्तान्तरण गरेका हुन्।
विद्यालय परिसरमा आयोजित कार्यक्रममा बैंकका प्रमुख मार्केटिङ अधिकृत सुरेशराज महर्जन, कर्पोरेट बैंकिङ प्रमुख प्रशन्न खड्का, लघु, साना तथा मझौला उद्यम बैंकिङ प्रमुख प्रदीप पन्त, मुसिकोट शाखा प्रबन्धक धर्मनन्द अवस्थी, सानीभेरी गाउँपालिकाका अध्यक्ष विर्खबहादुर विष्ट, उपाध्यक्ष कमला रोका पुन, वडा नं. १ का अध्यक्ष टेकबहादुर पुन, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गगनबहादुर खड्का, शिक्षक, अभिभावक तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत बस्यालले विद्यालय भवन निर्माण केवल भौतिक संरचना निर्माणमा सीमित नभई भूकम्पपछिको पुनःस्थापना, बालबालिकाको सुरक्षित भविष्य र गुणस्तरीय शिक्षाप्रतिको प्रतिबद्धताको प्रतीक भएको बताए। उनले विद्यालय बालबालिकाको भविष्य निर्माण गर्ने आधारभूमि भएकाले गुणस्तरीय र समावेशी शिक्षामा पहुँच विस्तार आवश्यक रहेको उल्लेख गरे।
बैंकका अनुसार नवनिर्मित भवनले विद्यार्थीहरूलाई सुरक्षित तथा गुणस्तरीय शिक्षामा पहुँच सुनिश्चित गर्नुका साथै शिक्षण–सिकाइ प्रक्रियालाई थप प्रभावकारी बनाउन सहयोग पुग्नेछ। यसले नियमित पठनपाठनको निरन्तरता कायम राख्न र समग्र शैक्षिक वातावरण सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास बैंकले लिएको छ।

सिद्धार्थ बैंकले दिगो विकास लक्ष्यलाई प्राथमिकतामा राख्दै सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा, स्वास्थ्य तथा समुदाय विकाससँग सम्बन्धित विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ। आगामी दिनमा पनि यस्ता सामाजिक कार्यलाई निरन्तरता दिने बैंकको योजना रहेको बताइएको छ।











प्रतिक्रिया