खुर्सानीको धुलो छर्केर लुटपाट गर्ने दुई पक्राउ, प्रहरीमाथि खुकुरी प्रहारको प्रयास


काठमाडौं।

काठमाडौंको सुकेधारामा एक महिलामाथि खुर्सानीको धुलो छर्केर लुटपाट गरी फरार भएका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका शनिबार दिउँसो करिब १ः२३ बजे सुकेधारामा एक महिलाको आँखामा खुर्सानीको धुलो हाली सिक्री र मोबाइल लुटेर फरार भएका व्यक्तिहरूको खोजतलास गर्ने क्रममा उनीहरूलाई पक्राउ गरिएको हो।

प्रहरीले सोही दिन राति करिब ९ः२५ बजे काठमाडौं महानगरपालिका–३२ जडीबुटीस्थित मनोहरा खोला करिडोर क्षेत्रमा उनीहरूलाई फेला पारी नियन्त्रणमा लिन खोज्दा एक जना आरोपितले प्रहरी कर्मचारीको आँखामा समेत खुर्सानीको धुलो छर्केका थिए। साथै उनले प्रहरीमाथि खुकुरी प्रहार गर्न समेत प्रयास गरेको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–३, चपली भद्रकाली बस्ने ४० वर्षीय गणेश कार्की रहेका छन्। उनको साथबाट लुटिएको सिक्री एक थान, मोबाइल फोन एक थान तथा खुकुरी एक थान बरामद गरिएको प्रहरीले जनाएको छ।

यसैगरी घटनामा संलग्न रहेको आरोपमा इलाम घर भई विभिन्न धर्मशालामा बस्दै आएका ३१ वर्षीय विष्णु गुरुङलाई पनि पक्राउ गरिएको छ।
प्रहरीले दुवै जनाविरुद्ध लुटपाट तथा अन्य सम्बन्धित कसुरमा थप अनुसन्धान अघि बढाएको जनाएको छ।

प्रहरीका अनुसार पक्राउ परेका व्यक्तिहरूको आपराधिक पृष्ठभूमि तथा घटनामा अन्य व्यक्तिको संलग्नता भए–नभएको विषयमा समेत अनुसन्धान भइरहेको छ।