स्थानीय–प्रदेश निर्वाचन लक्षित एमालेको ‘पार्टी जागरण अभियान’ सुरु


काठमाडौँ ।

नेकपा एमालेले आसन्न स्थानीय तथा प्रदेश निर्वाचनलाई लक्षित गर्दै ‘पार्टी जागरण अभियान’ सुरु गरेको छ। अभियानअन्तर्गत केन्द्रीय सदस्यहरूलाई आफूले प्रतिनिधित्व गर्ने जिल्लाका पालिकामा केन्द्रित गरी पार्टी संगठन सुदृढीकरण र जनसम्पर्क विस्तारको जिम्मेवारी दिइएको छ।

एमालेका अनुसार जिल्ला इन्चार्ज तथा केन्द्रीय सदस्यहरूलाई पालिका तहसम्म परिचालन गरिएको छ भने आवश्यकताअनुसार केन्द्रीय निकायका सदस्य र अगुवा कार्यकर्तालाई समेत अभियानमा खटाइएको छ। कार्यविभाजनअनुसार अध्यक्षले समग्र नेतृत्व, महासचिवले संगठनात्मक कामको संयोजन तथा उपाध्यक्ष र उपमहासचिवहरूले विभाग तथा फाँटहरूको जिम्मेवारी सम्हाल्नेछन्।

यस्तै, सचिवहरूलाई विभिन्न प्रदेशको इन्चार्ज तथा विभागीय जिम्मेवारी तोकिएको छ। एमालेले अभियानमार्फत निर्वाचनअघि संगठनलाई सक्रिय, सुदृढ र जनतामाझ थप प्रभावकारी बनाउने लक्ष्य लिएको जनाएको छ।