प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना, लैङ्गिक समानतामा जोड


काठमाडौँ ।

प्रधानमन्त्री बालेन्द्र शाहले आठौँ राष्ट्रिय महिला अधिकार दिवसको अवसरमा देश–विदेशमा रहेका नेपाली महिला दिदीबहिनी तथा महिला अधिकारका क्षेत्रमा क्रियाशील सबैप्रति शुभकामना व्यक्त गरेका छन्।

‘महिला अधिकारको सम्मान: आत्मनिर्भरता र समृद्धिको अभियान’ भन्ने नारासहित मनाइँदै गरेको दिवसका अवसरमा सन्देश दिँदै प्रधानमन्त्री शाहले संविधानले लैङ्गिक समानता, समावेशीता र समानुपातिक प्रतिनिधित्वलाई सुनिश्चित गरेको उल्लेख गरे। उनले राज्यका विभिन्न निकायमा महिलाको सहभागिता बढ्दै गएको र लैङ्गिक सूचकाङ्कमा सुधार देखिएको बताए।

तर अझै पनि पितृसत्तात्मक सोच, बालविवाह, बोक्सी प्रथा, छाउपडी, दाइजो तथा तिलकजस्ता कुप्रथाहरू र लैङ्गिक हिंसा जस्ता समस्या कायम रहेको भन्दै उनले यस्ता समस्याको अन्त्यका लागि कानुनी उपचारसँगै सामाजिक चेतना अभिवृद्धि आवश्यक रहेको बताए।

प्रधानमन्त्री शाहले महिलामैत्री नीति, व्यवहार र संस्कृतिको विकासमार्फत महिलाको सशक्तीकरण गर्दै समतामूलक समाज निर्माण गर्न सरकार प्रतिबद्ध रहेको स्पष्ट पारेका छन्।