दोदा र बाहुन खोलामा आकस्मिक बाढी, २० महिला सकुशल उद्धार


महेन्द्रनगर ।

कञ्चनपुरको पुनर्वास नगर क्षेत्रमा आएको आकस्मिक बाढीमा फसेका २० जनालाई सशस्त्र प्रहरी बलले समयमै उद्धार गरेको छ। लगातारको वर्षापछि दोदा नदी र बाहुन खोलामा पानीको बहाव ह्वात्तै बढ्दा नजिकैका क्षेत्रमा गएका स्थानीयवासी जोखिममा परेका थिए। पुनर्वास नगरपालिका–९ स्थित सिताबस्ती क्षेत्रको दोदा नदी पार गरेर जङ्गलमा निउरो संकलन गर्न गएका पाँच महिला नदीमा पानीको सतह अचानक बढेपछि फर्किन नसक्ने अवस्थामा पुगेका थिए।

घटनाबारे सूचना प्राप्त हुनासाथ सशस्त्र प्रहरी बलको बिओपी बिचफाँटाबाट खटिएको टोलीले उनीहरूको सकुशल उद्धार गरेको हो। सशस्त्र प्रहरी नायब निरीक्षक शान्तबहादुर सुनारको नेतृत्वमा विपद् व्यवस्थापन तालिम प्राप्त टोली घटनास्थलमा पुगेर उद्धार कार्य सम्पन्न गरेको सशस्त्र प्रहरी बल नम्बर ७ वैद्यनाथ बाहिनी मुख्यालयले जनाएको छ।

यसैबीच, पुनर्वास नगरपालिका–९ कै हरियालीटोल क्षेत्रमा पर्ने बाहुन खोलामा पनि पानीको बहाव बढ्दा दाउरा तथा घाँस संकलन गर्न गएका १५ महिला खोलाको बीचभागमा अलपत्र परेका थिए। उद्धार टोलीले स्थानीयवासी, नेपाल प्रहरी र जनप्रतिनिधिको सहयोगमा उनीहरूलाई सुरक्षित स्थानमा ल्याएको जनाएको छ।

सशस्त्र प्रहरी बल नम्बर ७ वैद्यनाथ बाहिनीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक दिग्विजय सुवेदीका अनुसार दुवै स्थानमा गरिएको उद्धार अभियान सफलतापूर्वक सम्पन्न भएको छ। समयमै सुरक्षाकर्मी परिचालन गरिएकाले कुनै मानवीय क्षति हुन नपाएको उनले बताए। मनसुन सक्रिय भएसँगै पहाडी क्षेत्रमा भइरहेको वर्षाका कारण तराईका नदी तथा खोलाहरूमा एक्कासि बाढी आउने जोखिम बढेको भन्दै सशस्त्र प्रहरीले नदी किनार र खोलाछेउका बासिन्दालाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ। आवश्यक कामबाहेक बाढीको सम्भावना भएका नदी तथा खोलाहरू पार नगर्न र जोखिमपूर्ण गतिविधिबाट टाढा रहन पनि सुरक्षा निकायले सर्वसाधारणलाई अनुरोध गरेको छ।