भीष्मराज आङदेम्बेले महिला अधिकार दिवसमा शुभकामना दिँदै सशक्तीकरणमा जोड


काठमाडौँ ।

नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले आठौँ राष्ट्रिय महिला अधिकार दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै महिलाको क्षमता, नेतृत्व र योगदान राष्ट्र निर्माणको आधार भएको बताएका छन्।

उनले महिलाको राजनीतिक, सामाजिक, आर्थिक, शैक्षिक तथा सांस्कृतिक क्षेत्रमा अर्थपूर्ण सहभागिता बिना समावेशी र समृद्ध समाज निर्माण सम्भव नहुने उल्लेख गरे। संविधानले सुनिश्चित गरेका महिला अधिकारहरूको प्रभावकारी कार्यान्वयन र महिलाको आत्मनिर्भरता तथा सशक्तीकरण आजको आवश्यकता भएको उनको भनाइ छ।

आङदेम्बेले मङ्गलादेवी सिंह, योगमाया न्यौपाने, साधना प्रधान, सहाना प्रधानलगायत अग्रज महिला नेताहरूको योगदान स्मरण गर्दै उनीहरूको संघर्षकै आधारमा आजका अधिकारहरू प्राप्त भएको बताए।

उनले महिला अधिकार संरक्षण र प्रवर्द्धनका लागि राज्य, राजनीतिक दल, नागरिक समाज र समुदाय सबैको साझा प्रयास आवश्यक रहेकोमा जोड दिएका छन्।