नेपाल थारु संघको प्रथम महाधिवेशन आज सानेपामा सुरु


काठमाडौं ।

नेपाल थारु संघ को प्रथम महाधिवेशन आजबाट काठमाडौंमा सुरु हुँदैछ। महाधिवेशनको उद्घाटन नेपाली कांग्रेसका सभापति गगनकुमार थापा ले दिउँसो १२:१५ बजे ललितपुरको सानेपास्थित नेपाली कांग्रेस केन्द्रीय कार्यालयमा गर्ने कार्यक्रम रहेको छ।

महाधिवेशनले राष्ट्रियता, लोकतन्त्र, समाजवाद र थारु समुदायको एकतालाई आधार मानेर संगठनलाई थप सुदृढ बनाउने लक्ष्य लिएको छ। साथै, थारु समुदायका राजनीतिक, सामाजिक, सांस्कृतिक र आर्थिक मुद्दालाई संस्थागत रूपमा अघि बढाउने उद्देश्य पनि राखिएको छ।

उद्घाटनसँगै सुरु हुने विभिन्न सत्रहरूमा संगठनको भावी नीति, रणनीति र कार्यक्रममाथि छलफल हुनेछ। महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नुका साथै थारु समुदायको प्रतिनिधित्व र भूमिकालाई अझ सशक्त बनाउने अपेक्षा गरिएको छ।

देशभरबाट आएका सयौँ प्रतिनिधि तथा कार्यकर्ताहरूको सहभागिता रहने महाधिवेशनलाई संगठन निर्माण र नेतृत्व हस्तान्तरणको महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ।