न्यून गुणस्तर भेटिएपछि ‘डाबर हनी’ बजारबाट फिर्ता गर्न विभागको आदेश

५०० ग्रामको मह परीक्षणमा असफल, बिक्री–वितरण रोक्न उत्पादक कम्पनीलाई कडा निर्देशन


काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले डाबर नेपाल प्रा.लि.द्वारा उत्पादन गरिएको ५०० ग्रामको ‘डाबर हनी’ (मह) बजारबाट तत्काल फिर्ता गर्न आदेश जारी गरेको छ ।


विभागले बजार अनुगमन तथा निरीक्षणका क्रममा संकलन गरिएको महको नमुना खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम प्रयोगशालामा परीक्षण गर्दा उक्त उत्पादन न्यूनस्तरको पाइएपछि फिर्ता (रिकल) प्रक्रिया अघि बढाएको जनाएको छ ।
विभागका अनुसार बाराको जितपुर सिमरा उपमहानगरपालिका–२३ स्थित डाबर नेपाल प्रा.लि.बाट उत्पादन भएको ब्याच नम्बर ‘एबी ००४७७’ को ‘डाबर हनी’ गुणस्तरहीन प्रमाणित भएको हो । उक्त उत्पादनको उत्पादन मिति २०२५/१२ रहेको तथा उपभोग्य अवधि १८ महिना उल्लेख गरिएको छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले मिति २०८३/०२/०५ मा जारी गरेको आदेशअनुसार उक्त ब्याच नम्बरका सम्पूर्ण मह तत्काल बजारबाट फिर्ता गर्न तथा बिक्री–वितरण रोक्न सम्बन्धित कम्पनीलाई निर्देशन दिइएको छ ।

खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को दफा ३८ को उपदफा (२०) बमोजिम फिर्ता आदेश जारी गरिएको विभागले जनाएको छ । साथै सोही दफाको उपदफा (४०) अनुसार उक्त उत्पादन पुनः बिक्री–वितरण नगर्न वा नगराउन महानिर्देशकको निर्देशनसमेत जारी गरिएको छ ।
विभागले पछिल्ला दिनमा खाद्य वस्तुको गुणस्तर परीक्षणलाई तीव्र बनाएको जनाएको छ ।

यसअघि पनि तयारी चाउचाउ, बिस्कुट, आइसक्रिमलगायत विभिन्न खाद्य पदार्थमाथि परीक्षण गरी न्यून गुणस्तर भेटिएका उत्पादनहरू बजारबाट फिर्ता गर्न आदेश जारी गरिएको विभागको सूचनामा उल्लेख छ ।