जेनेभा।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले विश्व धूम्रपानरहित दिवस–२०२६ को अवसरमा सुर्तीजन्य पदार्थ नियन्त्रण, धूम्रपानविरुद्ध जनचेतना अभिवृद्धि तथा जनस्वास्थ्य संरक्षणमा उल्लेखनीय योगदान पु¥याउने विश्वभरका विभिन्न व्यक्ति तथा संस्थाहरूलाई सम्मान गरेको जनाएकोछ ।
डब्लुएचओको ७९ औँ विश्व स्वास्थ्य महासभा जेनेभामा जारी रहेका बेला संगठनले यस वर्षका अवार्ड विजेताको नाम सार्वजनिक गरेको हो । हरेक वर्ष प्रदान गरिने यो सम्मानमार्फत डब्लुएचओले सुर्तीजन्य पदार्थको प्रयोग न्यूनीकरण, स्वास्थ्यसम्बन्धी प्रभावकारी नीति निर्माण तथा जनस्वास्थ्य संरक्षणमा सक्रिय भूमिका खेल्ने व्यक्ति र संस्थाहरूको योगदानको कदर गर्दै आएको जनाएको छ ।
यस वर्ष पनि डब्लुएचओका छवटै क्षेत्रबाट उत्कृष्ट कार्य गर्ने विभिन्न व्यक्ति तथा संस्थाहरू सम्मानित भएका छन् ।
यस वर्षको ‘डब्लुएचओ डाइरेक्टर जनरल स्पेशल अवार्ड’ यमनका प्रधानमन्त्री तथा विदेश र आप्रवासी मामिला मन्त्री डा. शाया मोहसिन जिन्दानीलाई प्रदान गरिएको छ । सुर्तीजन्य पदार्थ नियन्त्रणसम्बन्धी नीति प्रवद्र्धन, स्वास्थ्य सचेतना विस्तार तथा सार्वजनिक स्वास्थ्य संरक्षणमा नेतृत्वदायी भूमिका निर्वाह गरेको भन्दै उनलाई विशेष सम्मान प्रदान गरिएको डब्लुएचओले जनाएको छ ।
अफ्रिकी क्षेत्रबाट बुर्किना फासोका जनस्वास्थ्य विशेषज्ञ डा. नारे नार्सिस माथुरिन तथा लाइबेरियाकी स्वास्थ्य मन्त्री डा. लुइस म्याप्लेह कपोटो सम्मानित भएका छन् । उनीहरूले धूम्रपानविरुद्ध जनचेतना फैलाउने, सुर्तीजन्य पदार्थ नियन्त्रण अभियानलाई प्रभावकारी बनाउने तथा स्वास्थ्य नीतिमा सुधार ल्याउने कार्यमा महत्त्वपूर्ण योगदान दिएको जनाइएको छ ।
त्यसैगरी, नाइजेरियाको फिल्म तथा भिडियो सेन्सर बोर्डले चलचित्र तथा दृश्य सामग्रीमार्फत धूम्रपानको प्रचार नियन्त्रण गर्न खेलेको भूमिकाका कारण पुरस्कार प्राप्त गरेको छ । दक्षिण अफ्रिकाका प्राध्यापक क्याथरिन ओ. एग्बे र प्राध्यापक ओलालेकन आयो युसुफलाई सुर्तीजन्य नियन्त्रणसम्बन्धी अनुसन्धान तथा नीति विकासमा योगदान पु¥याएको भन्दै सम्मान गरिएको छ ।
अमेरिकी क्षेत्रअन्तर्गत ब्राजिलको कृषि विकास तथा पारिवारिक खेती मन्त्रालयलाई कृषकलाई वैकल्पिक खेतीतर्फ प्रोत्साहन गर्दै सुर्तीजन्य पदार्थमा निर्भरता घटाउन महत्त्वपूर्ण भूमिका खेलेको भन्दै सम्मान गरिएको छ ।
ब्राजिलकै स्वास्थ्य प्रवद्र्धन संस्था ‘एसीटी’ की निर्देशक तथा अध्यक्ष मोनिका आन्द्रेइसलाई धूम्रपानविरुद्ध जनचेतना अभिवृद्धि तथा स्वास्थ्य अभियान सञ्चालनमा उल्लेखनीय भूमिका निर्वाह गरेको भन्दै सम्मान प्रदान गरिएको हो ।
त्यस्तै, कोलम्बियाका ड्यानियल डोराडो, मेक्सिकोका जनस्वास्थ्य अनुसन्धानकर्ता डा. इन्टि बारिएन्तोस तथा उरुग्वेकी जनस्वास्थ्य मन्त्री डा. क्रिस्टिना लुस्तेम्बर्गलाई पनि तम्बाकू नियन्त्रण अभियानमा सक्रिय योगदान पु¥याएको भन्दै सम्मान गरिएको छ ।
पूर्वी भूमध्यसागरीय क्षेत्रबाट इरान, पाकिस्तान र ट्युनिसियाका विभिन्न व्यक्ति तथा संस्थाहरूलाई संयुक्त रूपमा सम्मान प्रदान गरिएको छ । इरानका डा. अब्दोलहोसेन खोस्रोपनाह र डा. बेहजाद वालिजादेहलाई सुर्तीजन्य पदार्थ नियन्त्रणसम्बन्धी राष्ट्रिय नीति तथा कानुनी व्यवस्थामा योगदान पु¥याएको भन्दै सम्मान गरिएको हो ।
लिबियाका अली एम. एलर्घाबीले ‘क्वीट एण्ड रन म्याराथोन’ अभियानमार्फत धूम्रपान त्याग अभियानलाई लोकप्रिय बनाएको उल्लेख गरिएको छ । पाकिस्तानका डा. वसीम इफ्तिखार जन्जुआ तथा त्यहाँको टोबाको कन्ट्रोल सेललाई अनुसन्धान, सरकारी समन्वय तथा जनचेतनामूलक कार्यक्रममार्फत सुर्तीजन्य पदार्थ नियन्त्रण अभियानलाई प्रभावकारी बनाएको भन्दै सम्मान प्रदान गरिएको हो ।
ट्युनिसियाका प्राध्यापक हातेम बुजाएन, प्राध्यापक राधुआन फाखफाख तथा स्वर्गीय डा. मौनिरा मस्मौदी नाब्लीलाई तम्बाकूविरुद्ध लामो समयदेखि जनस्वास्थ्य क्षेत्रमा योगदान पु¥याएको भन्दै सम्मान गरिएको छ ।
युरोपेली क्षेत्रअन्तर्गत फ्रान्सको धूम्रपानविरुद्धको राष्ट्रिय समिति, मोल्डोभाकी स्वास्थ्य मन्त्रालयकी उपमहासचिव डा. स्वेतलाना निकोलाएस्कु तथा रोमानियाका प्राध्यापक फ्लोरिन डुमित्रु मिहाल्तानलाई सुर्तीजन्य पदार्थ नियन्त्रण नीति, स्वास्थ्य अनुसन्धान तथा उपचार सेवामा योगदान पु¥याएको भन्दै सम्मान प्रदान गरिएको छ ।
स्पेनकी स्वास्थ्य मन्त्री डा. मोनिका गार्सिया गोमेज तथा स्विट्जरल्यान्डकी सुसान कोआलिकलाई धूम्रपान त्याग उपचार सेवाको विकास र विस्तारमा योगदान दिएको भन्दै पुरस्कार प्रदान गरिएको हो। बेलायतका डा. एलेन गालाघरलाई सुर्तीजन्य पदार्थ नियन्त्रणसम्बन्धी अनुसन्धान तथा अन्तर्राष्ट्रिय सहकार्यमा महत्त्वपूर्ण भूमिका खेलेको भन्दै सम्मान गरिएको छ ।
दक्षिण–पूर्व एशियाबाट भारत, म्यानमार र थाइल्याण्डका संस्था तथा व्यक्तित्वहरू अगाडि देखिएका छन् । भारतको राजस्थानस्थित चिकित्सा तथा स्वास्थ्य विभागका प्रमुख स्वास्थ्य सचिव तथा भारतीय चिकित्सा अनुसन्धान परिषद्अन्तर्गतको राष्ट्रिय क्यान्सर रोकथाम तथा अनुसन्धान संस्थानलाई सुर्तीजन्य पदार्थजन्य रोग रोकथाम तथा अनुसन्धानमा योगदानका लागि सम्मान गरिएको छ ।
म्यानमारको पिपुल्स हेल्थ फाउण्डेशन तथा थाइल्याण्डका ट्राकुल थोथम र टोबाको कन्ट्रोल रिसर्च एण्ड नलेज म्यानेजमेन्ट सेन्टरलाई जनचेतना, अनुसन्धान तथा स्वास्थ्य अभियान सञ्चालनमा उल्लेखनीय योगदान पु¥याएको भन्दै सम्मान गरिएको हो ।
पश्चिमी प्रशान्त क्षेत्रबाट कम्बोडियाका महामहिम टच चान्थी, हङकङका स्वास्थ्य सचिव प्राध्यापक चुङ–माउ लो तथा चीनको शेनझेन नगर सरकारलाई सुर्तीजन्य पदार्थ नियन्त्रणसम्बन्धी सार्वजनिक नीति तथा जनस्वास्थ्य अभियान सञ्चालन गरेको भन्दै सम्मान गरिएको छ ।
फिलिपिन्सको बागुइओ सिटी सरकारलाई स्थानीय तहमा प्रभावकारी धूम्रपान नियन्त्रण कार्यक्रम लागू गरेको भन्दै पुरस्कार प्रदान गरिएको हो । साथै, भियतनामका स्वास्थ्य मन्त्रालयअन्तर्गतका विभिन्न निकायहरूलाई पनि संयुक्त रूपमा सम्मान गरिएको डब्लुएचओले जनाएको छ ।











प्रतिक्रिया