काठमाडौं ।
नेपाली कांग्रेसको संस्थापनइतर समूहले काठमाडौंको अनामनगरमा सम्पर्क कार्यालय स्थापना गरेको छ । पूर्वसभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको राजनीतिक लिगेसीलाई निरन्तरता दिने उद्देश्यसहित समूह निकट नेताहरूले कार्यालय सञ्चालनमा ल्याएका हुन् ।
नेताहरू गुरु बराल, जितजंग बस्नेत, जित शेरचन, कुन्दन काफ्ले र केदार कार्कीलगायतको सक्रियतामा सम्पर्क कार्यालय स्थापना गरिएको जनाइएको छ । समूहले आगामी १५औँ महाधिवेशनलाई लक्षित गर्दै संगठनात्मक गतिविधि तीव्र बनाउने तयारीस्वरूप कार्यालय खोलेको बताएको छ ।
नेता गुरु बरालका अनुसार १५औँ महाधिवेशनलाई “एकताको महाधिवेशन” बनाउने उद्देश्यले सम्पर्क कार्यालय स्थापना गरिएको हो ।
‘१५औँ महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ । त्यसका लागि आवश्यक छलफल, समन्वय र तयारी गर्न सम्पर्क कार्यालय स्थापना गरेका हौँ,’ उनले बताए ।
कार्यालयमा नेपाली कांग्रेसका ऐतिहासिक नेताहरू बीपी कोइराला, सुवर्ण शमशेर, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, सुशील कोइराला, शेरबहादुर देउवा तथा खुमबहादुर खड्काका तस्वीर लहरै राखिएको छ । उक्त दृश्यलाई लिएर कांग्रेस वृत्तमा विभिन्न राजनीतिक अर्थ र टिप्पणीसमेत हुन थालेका छन् ।
सम्पर्क कार्यालय स्थापना भएपछि कांग्रेसभित्र महाधिवेशन केन्द्रित ध्रुवीकरण सुरु भएको चर्चा समेत चुलिएको छ । नेताहरूले भने यसलाई पार्टी एकता, संवाद र संगठन सुदृढीकरणको अभियानका रूपमा व्याख्या गरेका छन् ।











प्रतिक्रिया