काठमाडौं ।
प्रतिनिधिसभाको बैठक विपक्षी दलहरूको लगातार नाराबाजी र अवरोधबीच सभामुख डीपी अर्यालले जेठ १२ गते मंगलबार बिहान ११ बजेसम्मका लागि स्थगित गरेका छन् ।
बिहीबार बसेको बैठकमा विपक्षी दलका सांसदहरूले वेल घेरेर नाराबाजी जारी राखे पनि सभामुख अर्यालले सरकारको तर्फबाट विधेयक प्रस्तुत गर्न समय दिएका थिए ।
बैठकमा प्रधानमन्त्री तथा गृहमन्त्री वालेन्द्र शाहको तर्फबाट कानूनमन्त्री सोबिता गौतमले ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक’ तथा ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला सम्बन्धी विधेयक’ पेश गरेकी थिइन् ।
विपक्षी दलहरूले भने नीति तथा कार्यक्रममाथिको छलफल सुरु भएयता प्रधानमन्त्री बालेन संसद्मा अनुपस्थित रहेको भन्दै निरन्तर विरोध जनाइरहेका छन् । प्रधानमन्त्रीलाई संसद्मा उपस्थित गराउनुपर्ने माग राख्दै विपक्षी सांसदहरूले बैठक अवरुद्ध पार्दै आएका छन् ।
प्रधानमन्त्री बालेनको अनुपस्थितिकै बीच सरकारले महत्वपूर्ण विधेयक अघि बढाउन खोजेको भन्दै विपक्षी दलहरूले आपत्ति जनाएका छन् । संसद्मा जारी गतिरोध समाधानका लागि दलहरूबीच औपचारिक सहमति भने अझै हुन सकेको छैन ।











प्रतिक्रिया