रौतहट।
नेपालमा आर्थिक वर्ष २०८१/८२ मा १ लाख ३१ हजार ७३६ मेट्रिक टन माछा उत्पादन भएको तथ्य सार्वजनिक गरिएको छ। जसमध्ये १ लाख १० हजार ११२ मेट्रिक टन माछा पोखरीमा उत्पादन भएको छ भने २१ हजार मेट्रिक टन प्राकृतिक जलाशयबाट उत्पादन भएको जनाइएको छ। साथै सो अवधिमा ४ हजार ३३८ मेट्रिक टन माछा आयात गरिएको तथ्यांक प्रस्तुत गरिएको छ।
प्राकृतिक जलाशय मत्स्य प्रवर्द्धन एवं संरक्षण केन्द्र, हेटौंडा मकवानपुरको आयोजनामा जलीय जीवमारी जीविकोपार्जन गर्ने समुदाय तथा विभिन्न सरोकारवालासँग आयोजित “प्राकृतिक जलाशय संरक्षण तथा सम्बर्द्धन सम्बन्धी स्थानीयस्तर अन्तरक्रिया कार्यक्रम” मा उक्त जानकारी दिइएको हो।
कार्यक्रममा बोल्दै संरक्षण केन्द्रका प्रमुख सरोज कुमार यादवले नेपालमा हाल २५२ जातका माछा पाइने जानकारी दिनुभयो। उहाँका अनुसार तीमध्ये २३६ जातका माछा नेपालको आफ्नै रैथाने प्रजाति हुन्। उहाँले नेपालको प्राकृतिक जलाशयमा मात्रै १६ प्रकारका रैथाने प्रजातिका माछा पाइने उल्लेख गर्दै ती प्रजातिको संरक्षण आवश्यक रहेको बताउनुभयो।
केन्द्र प्रमुख यादवका अनुसार नेपालमा गंगटा ९ जातका, झिङ्गे माछा ३ जातका तथा घोंगी ५० जातका पाइन्छन्। तीमध्ये २५ जातका घोंगी मात्र खान योग्य रहेको जानकारी दिइयो। यस्तै नेपालमा ५३ जातका भ्यागुता, ४७ जातका सरीसृप, १९३ जातका जलचर चरा तथा ८४ जातका जलीय वनस्पति रहेको तथ्य पनि कार्यक्रममा प्रस्तुत गरिएको थियो।
उहाँले जलाशय अतिक्रमण, प्रदूषण तथा अवैध रूपमा माछा मार्ने गतिविधिका कारण जलीय जैविक विविधता जोखिममा परेको धारणा राख्नुभयो।
कार्यक्रममा सहभागीहरूले प्राकृतिक जलाशय संरक्षणमा स्थानीय समुदायको भूमिका महत्त्वपूर्ण हुने भन्दै संरक्षण तथा दिगो उपयोगका कार्यक्रमलाई प्रभावकारी रूपमा अगाडि बढाउनुपर्नेमा जोड दिएका थिए।











प्रतिक्रिया