
रसुवा । रसुवा जिल्लाको आमाछोदिङ्मो गाउँपालिका वडा नम्बर ३, गत्लाङका कृषकहरु चौँरी पालेरै जीवन धानिरहेका छन् । उनीहरु भन्छन्– लाखौँको आम्दानी भएकै कारण मलेसिया र कुवेत यही हो । उनीहरु वर्षाैंदेखि यही पुख्र्यौली पेसाबाट घर खर्चलगायत अन्य खर्च कटाएर मनग्य आम्दानी गरिरहेका छन् ।
गत्लाङका ४२ जनाले गोम्बोले भन्ने खर्कमा चौँरी पालेका छन् । उनीहरुले ६ महिना लेक र ६ महिना बेंसीमा राखेर चौँरी पाल्ने गरेका छन् । जाडो महिनामा बेंसी र गर्मी महिनामा लेकमा बस्ने गर्छन् । उनीहरूले पुख्र्यौली पेसालाई हराउन नदिई आम्दानीको स्रोत राम्रो बनाएका छन् ।
हिमाली क्षेत्रको जंगलमा चरेर, हिमाली जडीबुटी खाएर हुर्केको चौँरी बढी नै उपयोगी हुन्छ । छलफुङ तामाङले यस्ता २४ वटा चौँरी पालेका छन् । उनले दूध बेचेर वार्षिक ६ लाख रुपियाँ कमाउने गरेका छन् ।
यस्तै अर्का कृषक नोसङ तामाङले २० वटा चौँरी पालेर वर्षको ४ लाख रुपियाँ कमाउँछन् । उनी भन्छन्– ‘हाम्रो यो पुख्र्यौली पेसा हो । जहाँ गए पनि दुःख नै गर्नुपर्ने हुन्छ । हामीले यही पेसा राम्रो ठानेर नै निरन्तरता दियौँ ।’ पछिल्ला पुस्ताहरूले यो व्यवसाय गर्छन् कि गर्दैनन् भन्ने चिन्ता रहेको उनी बताउँछन् । दैनिक ५ देखि १० लिटर दूध गत्लाङकै दुग्ध विकास संस्थानमा बेच्ने गरेका छन् उनले ।
गत्लाङमा करिब ५ सय घरधुरी रहेकोमा ४२ वटा घरधुरीले चौँरी पालन गरेका छन् भने बाँकीले आलु, बन्दा, सिमी, कालो मुसुरोको खेती गरेका छन् । कसैले होमस्टे सञ्चालन गरिरहेका छन् ।
अर्का कृषक निमा तामाङले १६ वटा चौँरीबाट वार्षिक ३ लाख रुपियाँ आम्दानी गरेर आयस्रोत बलियो बनाएका छन् । पढेलेखेका नभए पनि अनुभव र देखेको भरमा यो व्यवसायलाई निरन्तरता दिएको बताउने पासाङ तामाङले १५ वटा चौँरीबाट वार्षिक ५ लाख कमाउँछन् ।
गरे के हुँदैन ? भन्ने उदाहरणीय पात्र बनेर आम्दानी राम्रो बनाउँदै लगेका सेरच्याल तामाङले ४५ वटा चौँरी पालेर वार्षिक १३ लाख कमाउने गरेका छन् । आमाछोदिङ्मो गाउँपालिकाले पनि कृषकहरूलाई सहज होस् भनेर उनीहरूको आयस्रोत बढाउन सहजीकरण गरिरहेको अध्यक्ष बुचुङ तामाङले बताए ।
गत्लाङकै गोम्बोछिरिङ तामाङले ४६ वटा याक–नाक पालेका छन्, जसले याक भाले र नाक पोथी क्रस गराएर चौँरी उत्पादन गरी बेच्ने गरेका छन् । उनी वार्षिक ६ लाख रुपियाँ आम्दानी गर्छन् । चौँरी पालनबाट राम्रो आयस्रोत बनाएका यहाँका कृषकलाई कहिल्यै पनि सदरमुकाम धुन्चे जाने फुर्सद हुँदैन, विदेश जाने त कल्पना नै गर्न सक्दैनन् ।
एउटा महत्वपूर्ण कुरा, चौँरीबाट चौँरी जन्मदैन । चौँरी उत्पादनका लागि शुद्व जातको याक र नाकको आवश्यकता रहन्छ । चौँरीको भालेलाई झोप्क्यो र पोथीलाई चौँरी भनिन्छ । चौँरी भाले झोप्क्यो प्रजननका लागि योग्य हुँदैन । यसलाई भारी बोक्न र खेत जोत्न प्रयोग गरिन्छ । नाक र स्थानीय जातको बहरको क्रसबाट जन्मेकालाई डिम्जो चौँरी भनिन्छ । याक र स्थानीय गाईको क्रसबाट जन्मेकोलाई उराङ्ग चौँरी भनिन्छ ।
अहिले चौँरी संरक्षणमा चुनौतीहरू देखिएका छन् । जलवायु परिवर्तनको असर, चरनक्षेत्र घट्दै जानु, गोठ व्यवस्थापनमा समस्या, युवा पुस्तामा कम रुचि आदि चुनौती तेर्सिएका छन् । त्यसैले चौँरी संरक्षणका उपायहरूमा सरकारले ध्यान पु¥याउनुपर्ने देखिन्छ । सुधारिएको पालन प्रणाली, पशु स्वास्थ्य सेवा विस्तार, सरकारी तथा सामुदायिक सहयोग, आधुनिक प्रविधिको प्रयोगमा ध्यान पु¥याउनुपर्ने देखिन्छ ।











प्रतिक्रिया