संस्थागत क्षमता स्वमूल्याङ्कनमा उदयपुरको कटारी नगरपालिक उत्कृष्ट

1.22k
Shares

उदयपुर ।

उदयपुरको दोश्रो ठूलो नगरपालिकाका रुपमा रहेको कटारी नपा गत वर्ष स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन (लिजा) मा उत्कृष्ट अंक प्राप्त गरेकोमा कटारी नगरपालिका सम्मानित भएको छ । हालै जिल्ला समन्वय समितिको आठौँ जिल्ला सभामा कटारीलाई सम्मानित गरिएको हो ।

जिल्ला समन्वय प्रमुख गौरबहादुर विश्वकर्मा र जिल्ला समन्वय अधिकारी सान्नानी अधिकारी ले कटारी नगरप्रमुख राजेशचन्द्र श्रेष्ठलाई सम्मानपत्र प्रदान गर्दै सम्मान गरेका हुन् । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गरेको आर्थिकवर्ष २०८०÷८१ मा कटारीले लिजातर्फ ८४.५० अंक ल्याएर जिल्लाको उत्कृष्ट सावित भएको थियो ।

कटारी लिजामा जिल्लाका ४ नगरपालिका र ४ गाउँपालिका सहित ८ स्थानीयतहमध्ये कटारी उत्कृष्ट भएकाले सम्मान गरिएको समन्वय प्रमुख विश्वकर्माले बताए ।

नगर प्रमुख श्रेष्ठका अनुसार, नगरपालिकाले पारदर्शिता, जवाफदेहिता र नागरिक सहभागिता बढाउँदै अघि बढ्ने योजना बनाएको छ । ‘हामीले प्राप्त गरेको यो उपलब्धि नगरवासीहरूकै सहयोग र सशक्त नेतृत्वको परिणाम भएको ,’ नगर प्रमुख श्रेष्ठले भने ।

त्यस्तै जि.स.स.को सम्मानले आगामी दिनमा अझ प्रतिबद्ध भएर नगरलाई समृद्धि बनाउने काममा लागिरहन हौसला मिलेको नगर प्रमुख श्रेष्ठले बताए ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहहरुको आर्थिक कार्यप्रणाली र प्रशासनिक कामकारबाहीमा एकरूपता ल्याउन तथा पारदर्शिता र जवाफदेहिता प्रवद्र्धन गर्न लिजा विधि अपनाउने गरेको छ ।