मोसादले पाकिस्तानी सेना प्रमुखमाथि हत्या योजना बनाएको दाबी, पाकिस्तानद्वारा खण्डन


इस्लामावाद ।

स्विट्जरल्याण्डमा अमेरिका–ईरानबीच भएको शान्ति वार्ताका क्रममा इजरायली खुफिया एजेन्सी मोसादले पाकिस्तानका सेना प्रमुख फिल्ड मार्सल आसिम मुनिर र उनको प्रतिनिधिमण्डलमाथि आक्रमण गरी हत्या गर्ने योजना बनाएको दाबी सार्वजनिक भएपछि नयाँ विवाद उत्पन्न भएको छ। यद्यपि पाकिस्तान सरकार र सुरक्षा निकायले उक्त दाबीलाई तत्काल खारेज गर्दै ‘पूर्ण रूपमा निराधार र काल्पनिक कथा’ भनेका छन्।

ब्राजिलका वरिष्ठ पत्रकार पेपे एस्कोबारले राजनीतिक विश्लेषक मारियो नाफलको पोडकास्टमा बोल्दै इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको निर्देशनमा मोसादले पाकिस्तानी प्रतिनिधिमण्डललाई निशाना बनाउने तयारी गरेको अत्यन्तै विश्वसनीय सूचना पाकिस्तानले प्राप्त गरेको दाबी गरेका थिए।

एस्कोबारका अनुसार स्विट्जरल्याण्डको बर्गनस्टक रिसोर्टमा अमेरिका र ईरानबीच पश्चिम एसियामा जारी तनाव अन्त्य गर्ने उद्देश्यले भएको वार्तामा इजरायललाई सहभागी नगरिएकाले तेल अभिभ क्रुद्ध थियो। उनले पाकिस्तानी सुरक्षा निकायले समयमै जानकारी पाएपछि ओमानमार्फत इजरायललाई कडा चेतावनी सन्देश पठाएको र त्यसपछि कथित योजना रोकिएको दाबी गरेका छन्।

उनको दाबी अनुसार पाकिस्तानले आफ्नो प्रतिनिधिमण्डलमाथि कुनै पनि प्रकारको आक्रमण भए त्यसको गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी इजरायललाई दिएको थियो।तर, यो दाबी सार्वजनिक हुनासाथ पाकिस्तानका अधिकारीहरूले त्यसलाई अस्वीकार गरेका छन्। पाकिस्तानी सञ्चारमाध्यम एआरवाई न्यूजका अध्यक्ष कामरान खानले एक वरिष्ठ सुरक्षा अधिकारीलाई उद्धृत गर्दै यस्तो कुनै सुरक्षा खतरा, षड्यन्त्र वा विशेष अलर्टको जानकारी कहिल्यै प्राप्त नभएको बताएका छन्।

ती अधिकारीका अनुसार प्रधानमन्त्री शहबाज सरिफ, सेना प्रमुख आसिम मुनिर तथा अन्य प्रतिनिधिहरूको स्विट्जरल्याण्ड भ्रमण पूर्वनिर्धारित कार्यक्रमअनुसार शान्तिपूर्ण रूपमा सम्पन्न भएको थियो। भ्रमण अवधिभर न त स्विस सुरक्षा निकायले कुनै खतरा औंल्याएको थियो, न त अमेरिकी सुरक्षा टोलीले नै कुनै सुरक्षा चिन्ता व्यक्त गरेको थियो।

सुरक्षा अधिकारीले लुसर्न र बर्गनस्टक क्षेत्रमा सुरक्षा व्यवस्था सामान्य ढंगले सञ्चालन भएको उल्लेख गर्दै हत्या षड्यन्त्रको दाबीलाई ‘कल्पनामा आधारित कथा’ को संज्ञा दिएका छन्।

यस घटनाले फेरि एकपटक इजरायल–पाकिस्तान सम्बन्धलाई चर्चामा ल्याएको छ। पाकिस्तानले हालसम्म पनि इजरायललाई औपचारिक मान्यता दिएको छैन। दुवै देशबीच कुनै कूटनीतिक सम्बन्ध छैन र लामो समयदेखि एकअर्काप्रति अविश्वासको अवस्था रहँदै आएको छ।

हालै पाकिस्तानका रक्षा मन्त्री ख्वाजा आसिफले लेबनान र गाजामा इजरायलको सैन्य कारबाहीको आलोचना गर्दै इजरायललाई ‘मानवताका लागि अभिशाप’ भनेका थिए। त्यसप्रति इजरायली पक्षले आपत्ति जनाउँदै पाकिस्तानले अमेरिका–ईरान वार्तामा निष्पक्ष मध्यस्थकर्ताको भूमिका निर्वाह गर्न सक्ने वा नसक्ने प्रश्न उठाएको थियो।

विश्लेषकहरूका अनुसार पेपे एस्कोबारको दाबीले सामाजिक सञ्जाल र केही वैकल्पिक सञ्चारमाध्यममा व्यापक चर्चा पाए पनि हालसम्म त्यसलाई पुष्टि गर्ने कुनै आधिकारिक प्रमाण सार्वजनिक भएको छैन। पाकिस्तानको डिजिटल समाचार प्लेटफर्म ‘डी करेन्ट’ सहित विभिन्न सञ्चारमाध्यमले पनि उक्त दाबीलाई तथ्यहीन र अपुष्ट कथा भन्दै प्रश्न उठाएका छन्।

यसबीच अमेरिका–ईरान संवाद र पश्चिम एसियाको बदलिँदो भूराजनीतिक समीकरणबीच यस्ता दाबीहरूले क्षेत्रीय तनावलाई थप चर्चा र अड्कलबाजीको विषय बनाएको छ। यद्यपि हालसम्म उपलब्ध आधिकारिक जानकारीका आधारमा पाकिस्तानी प्रतिनिधिमण्डलमाथि कुनै वास्तविक सुरक्षा खतरा रहेको पुष्टि भएको छैन।