प्रसारण लाइनमा नेपाली कम्पनीको उल्लेखनीय उपस्थिति, १८ कम्पनी प्रतिस्पर्धामा


काठमाडौं ।

नेपाल विद्युत् प्राधिकरणले पहिलोपटक ट्यारिफ आधारित प्रतिस्पर्धात्मक बोलपत्र (बुट मोडल) मार्फत अघि बढाएका चार प्रसारण लाइन आयोजनामा १८ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कम्पनी तथा कन्सोर्टियमले आशयपत्र दर्ता गरेका छन्। यसले नेपालको प्रसारण पूर्वाधार विकासमा निजी क्षेत्रको सहभागिता नयाँ चरणमा पुगेको संकेत गरेको छ।

नेपाली निजी क्षेत्रका कम्पनी तथा नेपाल–नेतृत्वका कन्सोर्टियमहरूको सहभागिता उल्लेखनीय देखिएको छ। पावर ट्रान्समिसन कम्पनी नेपाल, हाई हिमालय हाइड्रो कन्स्ट्रक्सन, शिवश्री–डाँफे संयुक्त उपक्रम, लिटमस केबल, हुलास स्टिल लगायतका समूहहरूले विभिन्न आयोजनामा चासो देखाएका छन्।

भारत, चीन र अन्य देशका कम्पनीहरू समेत प्रतिस्पर्धामा सहभागी भएका छन्। प्राधिकरणका अनुसार छनोट प्रक्रिया प्राविधिक क्षमता, वित्तीय व्यवस्थापन र प्रस्तावित प्रसारण सेवा शुल्कका आधारमा हुनेछ।

चारमध्ये शीतलपाटी–इनरुवा, तिङ्ला–न्यू खिम्ती–ढल्केबर, डाँडाखेत–बुर्तिबाङ र रिडी–तम्घास प्रसारण लाइन आयोजना समावेश छन्, जसले हजारौँ मेगावाट विद्युत् प्रवाह क्षमता विस्तार गर्ने अपेक्षा गरिएको छ।

आगामी चरणमा आशयपत्रहरूको मूल्यांकनपछि अन्तिम प्रतिस्पर्धात्मक प्रस्ताव आह्वान गरिनेछ। यस प्रक्रियाले नेपालमा ऊर्जा पूर्वाधार विकासलाई प्रतिस्पर्धात्मक र लगानीमैत्री बनाउने अपेक्षा गरिएको छ।