मूल्य घटेपछिको इन्धन अभाव: काठमाडौँ उपत्यकामा पम्प बन्द र उपभोक्ताको सास्ती


काठमाडौं ।

नेपाल आयल निगमले पेट्रोलमा २० रुपैयाँ, डिजेल तथा मट्टीतेलमा ३० रुपैयाँ र हवाई इन्धनमा ४० रुपैयाँसम्म मूल्य घटाएपछि उपत्यकामा पेट्रोलियम पदार्थको कृत्रिम अभाव देखिएको छ। मूल्य समायोजनको सूचना बाहिरिएपछि निजी पम्प सञ्चालकहरूले घाटा हुने डरले इन्धन नउठाउँदा काठमाडौँ, ललितपुर र भक्तपुरका धेरै पम्पहरू बन्द भए।

यसका कारण उपभोक्ताहरूले पेट्रोल र डिजेल नपाएर लामो लाइनमा बस्न बाध्य भए भने सरकारी तथा सुरक्षा निकायका पम्पहरूमा भीड बढ्यो। भारतको Indian Oil Corporation बाट आउने नयाँ मूल्य समायोजनको प्रभावले बजारमा असन्तुलन देखिएको बताइन्छ।

नेपाल आयल निगमले भने आवश्यक परिमाणमा आपूर्ति भइरहेको दाबी गर्दै व्यवसायीले माग गरेअनुसार मात्र तेल वितरण गरिएको जनाएको छ। तर उपभोक्ता अधिकारकर्मीहरूले निगमको व्यवस्थापकीय कमजोरी र सूचना चुहावटका कारण बजारमा कृत्रिम अभाव सिर्जना भएको आरोप लगाएका छन्।

अधिकारकर्मीहरूका अनुसार मूल्य घट्ने सूचना पहिले नै बाहिरिँदा व्यवसायीहरूले अघिल्लो दिन इन्धन नउठाउँदा डिपोहरू रित्तिएका थिए, जसले आजको आपूर्ति संकट निम्त्याएको हो। अहिले स्थिति क्रमशः सामान्य हुँदै गएको निगमको दाबी छ।