काठमाडौँ ।
नेपाल मेडिकल काउन्सिल (एनएमसी) ले नेपाल सरकारका पूर्वसचिव भीमप्रसाद उपाध्याय (भीम उपाध्याय) विरुद्ध नेपाल प्रहरीको साइबर ब्यूरोमा उजुरी दर्ता गराएको छ। उपाध्यायले सामाजिक सञ्जाल फेसबुकमार्फत काउन्सिलका पदाधिकारीको चरित्रहत्या गरेको, भ्रामक सामग्री फैलाएको र साइबर बुलिङ गरेको आरोप लगाउँदै काउन्सिलले विद्युतीय कारोबार ऐन २०६३ तथा प्रचलित कानूनबमोजिम तत्काल आवश्यक कानूनी कारबाही अघि बढाउन माग गरेको हो।
काउन्सिलका निमित्त रजिष्ट्रार डा. दिपेन्द्र पाण्डेको तस्वीर अनधिकृत रूपमा प्रयोग गरी उपाध्यायले फेसबुकमा भ्रामक, कपोलकल्पित र निन्दनीय सामग्री पोष्ट गरेको उजुरीमा उल्लेख छ। पूर्वसचिव जस्तो जिम्मेवार पदमा बसिसकेको व्यक्तिबाट पेशेवर मर्यादा, व्यक्तिगत चरित्र र संस्थाको गरिमामा गम्भीर आँच पुर्याउने नियतका साथ गालीगलौज गरिएको काउन्सिलको ठहर छ।

के थियो विवादको जड?
पछिल्लो समय प्राकृतिक चिकित्सक डा. चेतना पौडेलको गिरफ्तारीलाई लिएर एलोपेथिक (आधुनिक चिकित्सा) र न्याचुरोप्याथिक (प्राकृतिक चिकित्सा) क्षेत्रका चिकित्सकहरूबीच तीव्र बहस र विवाद चलिरहेको छ। स्पार्क अस्पताल र मेडिकल काउन्सिलबीचको यो विवादमा पूर्वसचिव उपाध्यायले पनि सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका थिए।
उपाध्यायले आफ्नो फेसबुक पेजमा डा. दिपेन्द्र पाण्डेको तस्बिर राख्दै लेखेका थिए:
“प्रतिष्ठित विश्वविद्यालयबाट प्राकृतिक योग चिकित्साका स्नातक शिक्षा प्राप्त गर्ने र त्रिविबाट समकक्षता प्राप्त गर्ने डा. चेतना पौडेललाई नक्कली डाक्टर भन्दै आरोप लगाई प्रहरी जाहेरी दिने र ७ दिन हिरासतमा राख्ने प्रपञ्च गर्ने नेपाल मेडिकल काउन्सिलका निर्वाचित सदस्य नेता डा. दिपेन्द्र पाण्डे…।”
उपाध्यायको उक्त पोष्ट सार्वजनिक भएलगत्तै काउन्सिलले कडा आपत्ति जनाउँदै प्रहरी गुहारेको हो। काउन्सिलका अनुसार उक्त पोष्ट नितान्त झुटा र दूषित नियतले प्रेरित छ।
‘काउन्सिलमा दर्ता नभई एलोपेथिक औषधि लेखेको भेटियो’
मेडिकल काउन्सिलले दायर गरेको उजुरीमा डा. चेतना पौडेलमाथि कारबाही प्रक्रिया अघि बढाउनुको स्पष्ट कारणसमेत खुलाएको छ। औषधी ऐन २०३५ को दफा २(क) (च) र दफा १७ बमोजिम काउन्सिलमा दर्ता भएका दर्तावाल चिकित्सक वा विशेषज्ञ चिकित्सकले मात्र बिरामीका लागि औषधि सिफारिस (प्रेस्क्रिप्सन) गर्न पाउने कानूनी व्यवस्था छ।
तर, काउन्सिलमा दर्ता नभई अन्य परिषद् वा निकायमा दर्ता भएका व्यक्तिहरू बिरामीको प्रत्यक्ष स्वास्थ्य उपचारमा संलग्न भई एलोपेथिक औषधि लेख्ने तथा एमआरआई (MRI) समेत गराउने जस्ता कार्यमा संलग्न रहेको उजुरी परेपछि अनुगमन गरिएको काउन्सिलले जनाएको छ। सोही अनुगमन र छानबिनका आधारमा कानूनी प्रक्रिया अघि बढाइएको भन्दै काउन्सिलले यसलाई “प्रपञ्च” भन्नु कानूनको उपहास भएको उल्लेख गरेको छ।
तन्किँदै एलोपेथिक र न्याचुरोप्याथिक विवाद
डा. चेतना पौडेलको पक्राउ प्रकरणले चिकित्सा क्षेत्रमा नयाँ तरंग पैदा गरेको छ। एलोपेथिक चिकित्सकहरूले योग्यता र कार्यक्षेत्र मिचेर बिरामीको स्वास्थ्यमा खेलबाड गर्न नपाइने तर्क गरिरहेका छन् भने न्याचुरोप्याथिक क्षेत्रका समर्थकहरूले यो कदमलाई प्राकृतिक चिकित्सामाथिको प्रहार र स्थापित चिकित्सकलाई निरुत्साहित गर्ने षड्यन्त्रका रूपमा व्याख्या गरिरहेका छन्।
यही ध्रुवीकरणका बीच पूर्वसचिव उपाध्यायको आक्रामक सामाजिक सञ्जाल पोष्टले वातावरणलाई थप उत्तेजित बनाएको थियो। “पूर्व उच्चपदस्थ अधिकारीहरूबाटै विना तथ्य र प्रमाण संस्थागत नेतृत्वको चरित्रहत्या हुने गरी सामग्री सम्प्रेषण हुँदा साइबर सुरक्षा र सामाजिक मर्यादामाथि गम्भीर प्रश्न उठेको छ,” काउन्सिल स्रोतले भन्यो।
नेपाल प्रहरीको साइबर ब्यूरोले काउन्सिलको उजुरी प्राप्त भएको र यस विषयमा विद्युतीय कारोबार ऐन अन्तर्गत प्राविधिक तथा कानूनी अनुसन्धान प्रक्रिया अगाडि बढाइने जानकारी दिएको छ। चिकित्सा क्षेत्रको यो विवाद अब कानूनी र साइबर सुरक्षाको बहसतर्फ मोडिएको छ।











प्रतिक्रिया