अभिनेतासंग बोल्ड दृश्य दिएपछि तोडियो अभिनेत्रीको विवाह


भोजपुरी, टेलिभिजन तथा हिन्दी चलचित्र उद्योगकी चर्चित अभिनेत्री त्रिधा चौधरीले चर्चित वेब सिरिज ‘आश्रम’ मा अभिनेता बबी देओलसँग अभिनय गरेको अन्तरङ्ग दृश्यका कारण आफ्नो प्रेम सम्बन्ध टुटेको खुलासा गरेकी छन्।

सिरिजमा ‘बबिता भाभी’को भूमिकाबाट व्यापक चर्चा र लोकप्रियता कमाएकी त्रिधाले हालै एक पोडकास्ट अन्तर्वार्तामा उक्त बोल्ड दृश्यले आफ्नो व्यक्तिगत जीवनमा गम्भीर असर पारेको बताएकी हुन्।

उनका अनुसार सिरिजको सुटिङका क्रममा तत्कालीन प्रेमी सेटमै पुगेर निर्देशक तथा निर्माता प्रकाश झासँग विवाद गरेका थिए। प्रेमीले आफू भविष्यमा त्रिधासँग विवाह गर्ने योजना रहेको भन्दै अत्यधिक रोमान्टिक तथा बोल्ड दृश्यहरू हटाउन वा परिवर्तन गर्न दबाब दिएको अभिनेत्रीले बताइन्।

त्रिधाले भने पर्दामा देखाइएका दृश्यहरू अभिनय र कथाको मागअनुसार मात्र रहेको स्पष्ट पारिन्। उनले यस्ता दृश्यहरूको छायांकन अत्यन्त व्यावसायिक वातावरणमा हुने र त्यस क्रममा धेरै प्राविधिक तथा टिम सदस्यहरूको उपस्थिति रहने उल्लेख गरिन्।

उनका अनुसार प्रेमीले अभिनयको व्यावसायिक पक्ष बुझ्न नसक्दा सम्बन्धमा तनाव बढ्दै गयो। अन्ततः सिरिज प्रसारण भएपछि उनीहरूबीच औपचारिक रूपमा सम्बन्ध विच्छेद भएको थियो।

जीवनको कठिन चरण सम्झिँदै त्रिधाले आफूले सबैभन्दा धेरै विश्वास गरेको व्यक्तिले साथ छोड्दा गहिरो पीडा महसुस गरेको बताइन्। यद्यपि, उनले त्यो अनुभवबाट धेरै कुरा सिकेको र आफ्नो करिअर तथा कलाप्रतिको समर्पणलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरिन्।

“जे भयो, त्यसले मलाई चोट त पुर्‍यायो, तर जिन्दगी कसैका लागि रोकिँदैन। म आफ्नो काम र कलालाई सधैं प्राथमिकता दिनेछु,” त्रिधाले भनिन्।