कस्ले कति जीपीए ल्याए
–३.६० देखि ४.०० सम्म ४८ हजार ३ सय ९२
–३.२० देखि ३.६० सम्म ८० हजार ३ सय ७२
–२.८० देखि ३.२० सम्म ९४ हजार २ सय २२
–२.४० देखि २.८० सम्म ५५ हजार ९ सय ७७
–२ देखि २.४० सम्म ५१ हजार ९०
–१.६० देखि २.०० सम्म ७
–एनजी १ लाख ४६ हजार ५ सय ७
काठमाडौं ।
राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ । बोर्डले सार्वजनिक गरेको नतिजाअनुसार ६५ दशमलव ९८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । तथ्यांकअनुसार २ लाख ८४ हजार १ सय ६० विद्यार्थी उत्तीर्ण भएका छन् ।
एसईई २०८२ को तुलनामा यो वर्ष ४.१७ प्रतिशतले नतिजामा सुधार आएको हो । गतवर्ष ६१ दशमलव ८१ प्रतिशत थियो । परीक्षामा ४ लाख ३० हजार ६ सय ६७ परीक्षार्थीको परीक्षाफल प्रकाशित भएको हो । प्रकाशित नतिजाअनुसार ३.६० देखि ४ (ग्रेड प्वाइन्ट एभरेज) जीपीए ल्याउने विद्यार्थीको संख्या ४८ हजार ३ सय ९२ छ ।
३.२० देखि ३.६० जीपीए प्राप्त गर्ने विद्यार्थीको संख्या ८० हजार ३ सय ७२, २.८० देखि ३.२० जीपीए ल्याउनेको संख्या ९४ हजार २ सय २२ छ ।
त्यसै गरी २.४० देखि २.८० पाउने विद्यार्थीको संख्या ५५ हजार ९ सय ७७, २ देखि २.४० जीपीए ल्याउनेको संख्या ५१ हजार ९० र १.६० देखि २ जीपीए ल्याउने विद्यार्थीको संख्या ७ रहेको छ । परीक्षामा १ लाख ४६ हजार ५ सय ७ जना विद्यार्थीले एनजी (ननग्रेडेड) ल्याएका छन् । परीक्षामा प्रदेशगत रूपमा सबैभन्दा धेरै वागमती प्रदेशका परीक्षार्थीले ३.६० देखि ४ जीपीए ल्याएका छन् । वागमती प्रदेशमा २० हजार ४ सय २९ जनाले ३.६० देखि ४ जीपीए ल्याएका छन् ।
प्रदेशगत रूपमा कोशीमा ७२ हजार २ सय ५६, मधेशमा ७६ हजार ३ सय १७, वागमतीमा ९८ हजार ८ सय १७, गण्डकीमा ३६ हजार ४ सय ९३, लुम्बिनीमा ७२ हजार १ सय ४९, कर्णालीमा ३२ हजार ३ सय ३६ र सुदूरपश्चिममा ४२ हजार २ सय २९ परीक्षाथीको परीक्षाफल प्रकाशित भएको छ । परीक्षामा सबैभन्दा धेरै एनजी ल्याउने प्रदेशमा मधेस प्रदेश रहेको छ । सो प्रदेशमा ३१ हजार ७ सय २५ रहेका छन् ।
चैत १९ देखि २९ गतेसम्म सञ्चालित एसईई परीक्षाको नतिजा सोमवार राती ९ बजे प्रकाशित भएको हो । यो वर्ष परीक्षा सञ्चालन भएको २९ दिनमा परीक्षाफल प्रकाशित भएको हो । पनिका कक्षा १० का परीक्षा नियन्त्रक टुकराज अधिकारीले सबै सरोकारवालको सहयोगका कारण तोकिएको समयभन्दा एक दिनअघि परीक्षाफल प्रकाशित गर्न सफल भएको जानकारी दिनुभयो ।
यसपटक परीक्षा केन्द्रमा नै उत्तरपुस्तिका परीक्षण गरिएकाले छिटो नतिजा सार्वजनिक गरिएको हो । परीक्षामा ५ लाख १२ हजार ४ सय २१ जना विद्यार्थीले फारम भरेका थिए । नियमिततर्फ ४ लाख ४१ हजार ५ सय ६६ जनाले र ग्रेड वृद्धितर्फ ७० हजार ८ सय ५५ जनाले परीक्षाका लागि फारम भरेका थिए ।
जसमा २ लाख ५७ हजार ६ सय १३ छात्रा, २ लाख ५४ हजार ८१ छात्र र अन्य ७ जना थिए । सुरुमा प्रधानमन्त्री बालेन्द्र शाहले १५ दिनमा परीक्षाफल प्रकाशन गर्न निर्देशन दिनुभएको थियो । तर, बोर्डले १ महिनाअघि सार्वजनिक गर्न असम्भव हुने जनाउँदै मन्त्री सस्मित पोखरेलसमक्ष आग्रह गरेको थियो ।
‘एक महिनामा गर्ने तयारी थियो, एक दिनअघि नै सकियो’ –परीक्षा नियन्त्रक अधिकारीले नेपाल समाचारपत्रसँग भन्नुभयो । यसअघि परीक्षा सकेको ३ महिना अघिमात्र परीक्षाफल प्रकाशित हुने गरेको थियो ।
नतिजा प्रकाशनलाई छरितो बनाउन यसपटक एसईईको उत्तरपुस्तिका परीक्षा केन्द्रमै परीक्षण गरिएको थियो भने उत्तरपुस्तिका परीक्षण गर्न जनशक्ति पनि धेरै खटाइएको थियो । गत वर्ष चैत दोस्रो साता सकिएको एसईई परीक्षाको नतिजा असार १३ गते प्रकाशित भएको थियो । यो वर्ष दुई महिनाअघि परीक्षाफल प्रकाशित भएको छ ।
शिक्षा ऐनको आठौं संशोधनले संरचना बदलेर कक्षा १२ सम्मलाई विद्यालय शिक्षा हुने व्यवस्था गरे पनि कक्षा १० को अन्तिम परीक्षा र नतिजा प्रकाशनलाई साविकको एसएलसीकै शैलीमा निरन्तरता दिइँदै आएको छ ।
विद्यार्थीलाई सास्ती
१० बजेसम्म परीक्षाफल हेर्न पाएनन्
परीक्षाफल प्रकाशित भएको करिब एक घण्टासम्म पनि प्राप्तांक वा पास फेल भएको हेर्न नपाएपछि विद्यार्थी आतंकित भएका छन् । नेपाल समाचारपत्रसँग कुरा गर्दै अधिकांश प्रिन्सिपल र अभिभावकले परीक्षा बोर्डले हुर्मत लिएको बताए ।
राती अबेर पनिका पुगेका विद्यार्थी त्यतिकै तनाबमा थिए भने घरमा बसेर १६ विभिन्न सेवा प्रदायक संस्थाबाट परीक्षाफलको प्रतीक्षामा बसेका विद्यार्थी आतंकित भएका थिए । लिटल एन्जल्सका प्रिन्सिपल मुकुन्द शर्माले भन्नुभयो– ‘आज परीक्षाफल प्रकाशित गरेको भए के बिग्रिन्थ्यो ।
राती परीक्षाफल प्रकाशित गरिएको छ । विद्यार्थीले नतिजा हेर्न पाएका छैनन् । अभिभावकले फोन गरेर हैरान छ ।’ अभिभावक किशोर कुँवरले बल्लतल्ल राती साढे १० बजे परीक्षाफल हेर्न पाएको बताउनुभयो । उहाँले भन्नुभयो– ‘समयमै परीक्षाफल प्रकाशित गरेको भए के बिग्रन्थ्यो ।’
पूरक परीक्षा असार १ देखि ९ सम्म
माध्यमिक शिक्षा परीक्षा (एसईई)को पूरक (ग्रेडवृद्धि) परीक्षा आगामी असारमा हुने भएको छ । सोमवार नतिजा सार्वजनिक गर्नेक्रममा पूरक परीक्षाको तालिका सार्वजनिक गरेको हो । परीक्षा असार १ गते सोमवारदेखि हुने जनाएको छ । परीक्षा असार ९ गतेसम्म सञ्चालन हुनेछ ।
अन्तिम ग्रेड ‘सी’ वा ‘सी भन्दा कम प्राप्त गरेका विद्यार्थीले पूरक परीक्षा दिन पाउनेछन् । बढीमा दुई विषयसम्म अनुपस्थित रहेका परीक्षार्थीले पनि पूरक परीक्षा दिन पाउने परीक्षा नियन्त्रक टुकराज अधिकारीले जानकारी दिनुभयो ।











प्रतिक्रिया