प्रधानमन्त्री अनुपस्थित भएपछि कांग्रेसद्वारा समिति बैठक बहिष्कार


काठमाडौं ।

प्रधानमन्त्री तथा गृह मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका बालेन शाह लगातार दोस्रोपटक पनि राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा अनुपस्थित भएपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बैठक बहिष्कार गरेको छ ।

सुकुमवासी बस्ती खाली गराउने विषय, सुरक्षा प्रशासनलगायतका सवालमा प्रधानमन्त्रीसँग जवाफ माग्नुपर्ने भए पनि उनी बैठकमा उपस्थित नभएको भन्दै कांग्रेसका सांसदहरू बैठकमा सहभागी भएनन् ।

सोमबार बिहान ११ बजे बोलाइएको बैठकमा कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बे, सचेतक निश्कल राई तथा सांसद अर्जुननरसिंह केसी र रेखाकुमारी यादव अनुपस्थित रहे ।

कांग्रेस नेता आङ्देम्बेले प्रधानमन्त्री उपस्थित नभएसम्म समितिको बैठकको औचित्य नरहेको बताए । उनले प्रधानमन्त्री उपस्थित हुने भए मात्रै कांग्रेस बैठकमा सहभागी हुने स्पष्ट पारे ।

प्रधानमन्त्रीको अनुपस्थितिका कारण समिति बैठक दोस्रोपटक प्रभावित बनेको छ ।