विश्वकपमा शाकिराको पुनरागमन


लन्डन, (एजेन्सी) ।

विश्व फुटबलको महाकुम्भ फिफा विश्वकप २०२६ को माहोल तातिरहेका बेला ‘विश्वकप क्वीन’ को रूपमा परिचित कोलम्बियाली पप स्टार शाकिराले आफ्नो नयाँ आधिकारिक एन्थम “दाइ दाइ” सार्वजनिक गर्दै विश्वकपमा पुनरागमन गरेकी छन ।

नाइजेरियन एफ्रोबिट्स स्टार बर्न बोईसँगको सहकार्यमा तयार पारिएको यो गीतको पूर्ण भर्सन मे १४, २०२६ मा विश्वव्यापी रूपमा रिलिज हुने तयारीमा छ । अमेरिका, मेक्सिको र क्यानाडाले संयुक्त रूपमा आयोजना गर्न लागेको यस ऐतिहासिक प्रतियोगिताका लागि शाकिराले ब्राजिलको प्रख्यात माराकाना स्टेडियममा गीतको टिजर छायाङ्कन गरेर विश्वभरका फ्यानहरूलाई एउटा विशेष सरप्राइज दिएकी छन् ।

इटालेली भाषाको शब्द “दाइ दाइ” बाट लिइएको यसको अर्थ “जाऔँ” वा “अघि बढौँ” भन्ने हुन्छ, जसले मैदानमा खेलाडीहरूको जोस र दर्शकहरूको उत्साहलाई प्रतिनिधित्व गर्ने अपेक्षा गरिएको छ ।

यो नयाँ सांगीतिक कोसेलीले विश्वव्यापी लय र एफ्रो–फ्युजनको एउटा अद्वितीय मिश्रण प्रस्तुत गर्दै आयोजक तीन राष्ट्रको जीवन्त ऊर्जा र मानवीय लचिलोपनको भावनालाई समेटेको छ । शाकिराका लागि यो कुनै नयाँ अनुभव भने होइन । सन् २०१० मा दक्षिण अफ्रिका विश्वकपको “वाका वाका” ले विश्वव्यापी कीर्तिमान रचेको थियो भने २०१४ को “ला ला ला” ले पनि फुटबल प्रशंसकहरूको मन जितेको थियो ।

त्यसअघि सन् २००६ को जर्मनी विश्वकपमा पनि उनले आफ्नो चर्चित प्रस्तुति दिएकी थिइन् । आगामी जुन ११ देखि जुलाई १९ सम्म चल्ने यस विश्वकपको उद्घघाटन खेल मेक्सिको सिटीको ऐतिहासिक एज्तेका स्टेडियममा हुनेछ । जहाँ शाकिरा र बर्न बोईको यो नयाँ धुनले रंगशालाको वातावरणलाई थप आकर्षक बनाउने निश्चित देखिएको छ ।