भिजिट भिसा प्रकरण : पूर्व गृहमन्त्री लेखक र पूर्व गृहसचिव दुवाडीमाथि मुद्दा नचल्ने


काठमाडौँ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयसँग जोडिएको भिजिट भिसा घुस प्रकरणमा नाम मुछिएका तत्कालीन गृहमन्त्री रमेश लेखक र तत्कालीन गृहसचिव गोकर्णमणि दुवाडीमाथि मुद्दा नचल्ने भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उहाँहरूविरुद्ध पर्याप्त प्रमाण फेला नपरेको निष्कर्ष निकाल्दै मुद्दा नचलाउने निर्णय गरेको हो ।

यसअघि अख्तियारले तत्कालीन अध्यागमन प्रमुख तथा सहसचिव तीर्थराज भट्टराईविरुद्ध भ्रष्टाचार मुद्दा दायर गर्दा पूर्वगृहमन्त्री लेखक र गृहसचिव दुवाडीमाथि अनुसन्धान जारी रहेको जानकारी विशेष अदालतलाई गराएको थियो । तर, लामो अनुसन्धानपछि उहाँहरूविरुद्ध अभियोग पुष्टि हुने आधार नभेटिएको भन्दै फाइल बन्द गरिएको अख्तियार स्रोतले जनाएको छ ।

अख्तियारका एक अनुसन्धान अधिकृतका अनुसार, ‘तत्कालीन प्रमुख अध्यागमन अधिकृत तीर्थराज भट्टराईमाथि जे–जति प्रमाण भेटियो, त्यसैका आधारमा मुद्दा दायर गरिएको हो । त्यसभन्दा माथिल्लो तहसम्म जोड्ने पर्याप्त प्रमाण फेला परेन। त्यसैले मुद्दा नचल्ने निष्कर्षसहित अनुसन्धान टुंगिएको छ ।’

भिजिट भिसा प्रकरण २०८२ साल जेठ ७ गते सहसचिव तीर्थराज भट्टराई पक्राउ परेपछि सार्वजनिक भएको थियो । अनुसन्धानका क्रममा विमानस्थल अध्यागमनमा कर्मचारी पठाउने, मिलेमतोमा आर्थिक लाभ लिने तथा भिजिट भिसा प्रक्रियामा अनियमितता भएको आरोप उठेको थियो ।

उक्त प्रकरणमा तत्कालीन गृहमन्त्री लेखक, गृहसचिव दुवाडी तथा गृह मन्त्रालयका सहसचिव एवं पछि काठमाडौंका प्रमुख जिल्ला अधिकारी बनेका छविराज रिजालसहितका उच्च अधिकारीहरूको नामसमेत जोडिएको थियो ।

अख्तियारले २०८२ साल मंसिर २१ गते सहसचिव भट्टराईसहित केही कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो । त्यही क्रममा विशेष अदालतलाई पठाइएको विवरणमा पूर्वगृहमन्त्री लेखकलगायतमाथि अनुसन्धान भइरहेको उल्लेख गरिएको थियो ।