राष्ट्रिय सभामा जिम्मेवार भूमिकाको आह्वान, महत्वपूर्ण विधेयकलाई प्राथमिकता


काठमाडौं ।

राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले जनहित, सुशासन र समृद्धिका लागि राजनीतिक पूर्वाग्रहभन्दा माथि उठेर जिम्मेवार भूमिका निर्वाह गर्न सदस्यहरूलाई आग्रह गर्नुभएको छ।

अधिवेशनको पहिलो बैठकलाई सम्बोधन गर्दै उहाँले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको सुदृढीकरणमा राष्ट्रिय सभाले अभिभावकीय भूमिका खेल्दै आएको उल्लेख गर्नुभयो। विगतका चुनौतीका बाबजुद संसदले विधायिकी प्रक्रिया निरन्तर अघि बढाएको बताउँदै नयाँ सरकार गठनसँगै संसदीय कामकाजमा थप गति आएको उहाँको भनाइ थियो।

अध्यक्ष दाहालले यस अधिवेशनलाई मुख्य रूपमा ‘बजेट अधिवेशन’का रूपमा लिइने जानकारी दिँदै सरकारको नीति तथा कार्यक्रम, विनियोजन विधेयक र बजेटमाथि गहन छलफल हुने बताउनुभयो। साथै, संघीय निजामती सेवा, विद्यालय शिक्षा र नेपाल प्रहरीसम्बन्धी महत्वपूर्ण विधेयकलाई प्राथमिकताका साथ अघि बढाइने उहाँले उल्लेख गर्नुभयो।

उहाँले संसदलाई प्रविधिमैत्री र समावेशी बनाउने प्रयासस्वरूप राष्ट्रिय सभाको बैठकको प्रत्यक्ष प्रसारणमा सांकेतिक भाषाको प्रयोग सुरु गरिएको जानकारी पनि दिनुभयो। निर्माणाधीन संसद भवन छिट्टै सम्पन्न भई नयाँ भवनबाट सभा सञ्चालन हुँदा कार्यक्षमतामा वृद्धि हुने विश्वास उहाँले व्यक्त गर्नुभयो।