गगन–देउवा द्वन्द्वले फेरि विभाजनको डिलमा

3.2k
Shares

काठमाडौं ।

एक समय लोकतान्त्रिक आन्दोलनको मुख्य शक्ति मानिएको नेपाली कांग्रेस अहिले आफ्नै आन्तरिक द्वन्द्वको भुमरीमा फसेको छ । संसद्को प्रमुख प्रतिपक्षी दल कांग्रेसभित्र चुलिँदै गएको शक्ति संघर्षले पार्टीलाई विभाजनकै संघारमा पु¥याएको विश्लेषण हुन थालेको छ ।

विशेष महाधिवेशनपछि सभापति बनेका गगन थापा नेतृत्वको नयाँ कार्यसमितिलाई लिएर पुरानो संस्थापन अर्थात् शेरबहादुर देउवा पक्ष असन्तुष्ट बन्दै गएपछि कांग्रेसभित्रको आन्तरिक जीवन अस्वाभाविक रूपमा तनाबग्रस्त बनेको छ ।

आगामी असोज १६ देखि १९ गतेसम्म १५औं महाधिवेशन गर्ने तयारी संस्थापन पक्षले गरिरहेको छ । तर, देउवा पक्षले भने ‘सम्मानजनक भूमिका र सहभागिता सुनिश्चित नभएसम्म’ महाधिवेशन प्रक्रियामा सहभागी नहुने संकेत दिएको छ ।

संस्थापन पक्षका महामन्त्री प्रदीप पौडेल भन्नुहुन्छ– ‘हामीले ‘जरा अभियान’मार्फत देशभर डिजिटल रूपमा सदस्यता अद्यावधिक गर्दै छौं । हाम्रो तयारीअनुसार १५औं महाधिवेशन असोज १६–१९ मा हुन्छ । यो प्रक्रियालाई बहिष्कार गर्नु लोकतन्त्रको हत्या हो ।’

तर, असन्तुष्ट समूहका नेता पूर्णबहादुर खड्काको मत भने फरक छ । उहाँ भन्नुहुन्छ– ‘विशेष महाधिवेशन नै गैरकानुनी थियो । सर्वोच्चको आदेशले मात्र वैधानिकता दिँदैन, नैतिकता चाहिन्छ । देउवाजी वा अन्य वरिष्ठ नेतालाई पार्टीमा सम्मानजनक भूमिका नदिएसम्म हामी प्रक्रियामा सहभागी हुँदैनौं ।’

कांग्रेसका एक पुराना नेता तथा देउवानिकट मानिने पूर्णबहादुर खड्काले निजी भेटघाटमा असन्तुष्टि व्यक्त गर्दै आउनुभएको छ । उहाँनिकट एक नेताले भने–‘विशेष महाधिवेशनबाट बनेको संरचनाले पार्टीलाई समेट्न सकेन । नेतृत्वले सबैलाई विश्वासमा लिएर जान नसके विभाजनको अवस्था आउन सक्छ ।’

उता गगन पक्ष भने आफूहरू वैधानिक र परिवर्तनको एजेन्डा बोकेको समूह भएको दाबी गर्दै आएको छ । महामन्त्री प्रदीप पौडेल नेतृत्वको ‘जरा अभियान’मार्फत देशभर डिजिटल प्रणालीबाट क्रियाशील सदस्यता अद्यावधिक गर्ने अभियान चलिरहेको छ । तर, असन्तुष्ट समूहले यही अभियानलाई ‘एकपक्षीय शक्ति निर्माणको प्रयास’ भन्दै बहिष्कार गर्दै आएको छ ।

यतिबेला कांग्रेसभित्र दुईवटा छुट्टाछुट्टै शक्ति केन्द्र देखिएका छन् । एकातिर सभापति थापा नेतृत्वको कार्यसमिति संगठन सुदृढीकरणमा लागेको दाबी गरिरहेको छ भने अर्कोतर्फ देउवा पक्षीय नेताहरू प्रदेशस्तरीय भेला र शक्ति प्रदर्शनमा केन्द्रित छन् ।

विमलेन्द्र निधि,प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौलालगायतका नेताहरूले वर्तमान कार्यसमितिलाई पूर्ण रूपमा स्वीकार गर्न नसकिने अडान राख्दै आएका छन् । पार्टीभित्र अहिले ‘समानान्तर महाधिवेशन’सम्मको चर्चा हुन थालेको छ ।

कांग्रेसका एक युवा जिल्ला सभापतिले नाम नछाप्ने सर्तमा भने– ‘अहिले पार्टीभित्र विचारको भन्दा पनि शक्ति र भागवण्डाको लडाईं बढी देखिन्छ । कार्यकर्ता अन्योलमा छन् । नेताहरू एकअर्कालाई कमजोर पार्न व्यस्त छन् ।’ पार्टीभित्रको अर्को ठूलो असन्तोष भनेको अवसरवादको राजनीति हो । कांग्रेसकै संगठन र शक्ति प्रयोग गरेर विभिन्न नियुक्ति, लाभ र पद पाएका नेताहरू अहिले सार्वजनिक रूपमा पार्टी नेतृत्वमाथि नै प्रहार गरिरहेका छन् ।

काठमाडौंका पुराना कांग्रेस कार्यकर्ता रकेश ढुंगेल भन्नुहुन्छ– ‘हिजो कांग्रेसको छहारीमा मन्त्री, राजदूत र विभिन्न नियुक्ति खानेहरू आज पार्टी नै सिध्याउन लागेझैं बोलिरहेका छन् । विचारभन्दा व्यक्तिगत रिस र स्वार्थ हाबी भयो ।’ चितवनकी महासमिति सदस्य मीना अधिकारीको भनाइ पनि उस्तै छ– ‘जनताले कांग्रेसलाई विकल्पका रूपमा हेर्न खोजेका बेला नेता भने एकअर्कालाई समाप्त पार्ने खेलमा छन् । यो प्रवृत्तिले कार्यकर्तामा निराशा बढाएको छ ।’

फागुन २१ को निर्वाचनपछि कांग्रेस कमजोर बनेको विश्लेषण भइरहेको थियो । तर, अहिले आएर पार्टीभित्रको आन्तरिक झगडाले त्यो कमजोरी अझ गहिरिएको देखिन्छ । राजनीतिक विश्लेषक हरि शर्मा भन्नुहुन्छ– ‘कांग्रेस अहिले विचारहीन शक्ति संघर्षमा फसेको छ ।

लोकतान्त्रिक पार्टीभित्र बहस हुनु स्वाभाविक हो, तर अहिलेको अवस्था संस्थागत बहसभन्दा व्यक्तिगत अस्तित्व जोगाउने लडाइँजस्तो देखिन्छ ।’ उहाँका अनुसार कांग्रेसभित्र अहिले तीन समस्या गम्भीर रूपमा देखिएका छन् ।

पहिलो, नेतृत्वबीच विश्वासको संकट, दोस्रो कार्यकर्तामा निराशा, तेस्रो जनतामा पार्टीप्रतिको भरोसा घट्दै जानुले पनि कांग्रेको राजनीतिक भविष्य के हो भन्ने प्रश्न उठेको छ । विश्लेषक शर्माका अनुसार, ‘कांग्रेस अहिले प्रतिपक्ष भएर पनि प्रभावकारी रूपमा सरकारलाई दबाब दिन सकिरहेको छैन । किनकि ऊ आफैं आन्तरिक युद्धमा व्यस्त छ । ’

कांग्रेसको अहिलेको संकट आकस्मिक होइन । लामो समयदेखि चल्दै आएको गुटगत राजनीति, अवसरवाद, नेतृत्व हस्तान्तरणको विवाद र विचारभन्दा व्यक्तिकेन्द्रित संस्कृतिले पार्टीलाई यहाँसम्म ल्याएको धेरैको निष्कर्ष छ ।

एक समय गाउँदेखि केन्द्रसम्म बलियो संगठन भएको कांग्रेस अहिले डिजिटल सदस्यता, गुटीय भेलाहरू र शक्ति प्रदर्शनमै सीमित हुन थालेको आरोप लागिरहेको छ । कार्यकर्ताहरू भन्छन्– ‘पार्टीभित्र वैचारिक प्रशिक्षण हरायो, त्यागी नेता हराए, अवसरवादी प्रवृत्ति बढ्यो ।’

राजनीतिक विश्लेषकहरूको मतमा कांग्रेसलाई जोगाउन अब केही कठोर तर आवश्यक निर्णय लिनैपर्ने अवस्था आएको छ । पहिलो, गुटको राजनीतिभन्दा माथि उठेर साझा नेतृत्व निर्माण गर्नुपर्ने आवश्यकता छ भने दोस्रो, पुराना र नयाँ पुस्ताबीच सम्मानजनक सहकार्यको वातावरण बनाइनुपर्छ ।

तेस्रो, महाधिवेशनलाई शक्ति प्रदर्शन होइन वैचारिक पुनर्जागरणको अवसर बनाउनुपर्ने देखिन्छ ।
विश्लेषक चन्द्रदेव भट्ट भन्नुहुन्छ– ‘कांग्रेस जोगिनु भनेको एउटा पार्टीमात्र जोगिनु होइन, नेपालको लोकतान्त्रिक राजनीतिक धार नै सन्तुलित रहनु हो । त्यसैले कांग्रेसले अहंकार होइन आत्मसमीक्षा गर्नुपर्ने बेला आएको छ । अहिले कांग्रेसभित्र देखिएको संकट केवल नेतृत्वको लडाइँमात्र होइन, यो पार्टीको आत्माको संकटजस्तै देखिन थालेको छ ।’

अर्का राजनीतिक विश्लेषक डा. युवराज कोइराला टिप्पणी भने यस्तो रहेको छ । कांग्रेस अहिले संक्रमणकालमा छ । संस्थापन र असन्तुष्ट दुवै पक्षका नेता स्वार्थ केन्द्रित भएपछि पार्टीको नीति, नेतृत्व र संगठन सबै प्रश्नचिह्नमा परेको छ ।

हिजो मन्त्री बन्न तथा आफू नजिकको व्यक्तिलाई बढुवा गराउन कांग्रेसको बलमा खट्ने मानिसहरूले आज कांग्रेसलाई गाली गरेर अलग पहिचान बनाउने प्रयास गरिरहेका छन् । यो स्वाभाविक छ, तर पार्टीका लागि घातक बन्दै गएको छ ।

यदि समयमै सहमति, संवाद र आत्मसमीक्षा भएन भने कांग्रेस औपचारिक रूपमा नफुटे पनि मानसिक रूपमा विभाजित पार्टी बन्ने खतरा बढेको छ । र, सबैभन्दा ठूलो प्रश्न यही हो, देशको लोकतान्त्रिक इतिहास बोकेको पार्टी अब आफूलाई जोगाउने कि आफ्नै द्वन्द्वले इतिहास बन्ने भन्ने बेला आएको छ ।

हामीले जरा अभियानमार्फत देशभर डिजिटल रूपमा सदस्यता अद्यावधिक गर्दै छौं । हाम्रो तयारीअनुसार १५औं महाधिवेशन असोज १६–१९ मा हुन्छ । यो प्रक्रियालाई बहिष्कार गर्नु लोकतन्त्रको हत्या हो ।
प्रदीप पौडेल, महामन्त्री

विशेष महाधिवेशन नै गैरकानुनी थियो । सर्वोच्चको आदेशले मात्र वैधानिकता दिँदैन, नैतिकता चाहिन्छ । देउवाजी वा अन्य वरिष्ठ नेतालाई पार्टीमा सम्मानजनक भूमिका नदिएसम्म हामी प्रक्रियामा सहभागी हुँदैनौँ ।
पूर्णबहादुर खड्का, नेता