काठमाडौं ।
नेपासस्थित पाकिस्तानी दूताबालले आइतबार काठमाडौंमा ‘मार्का–ए–हक दिवस’ मनाएको छ ।
दूतावास परिसरमा आयोजित कार्यक्रममा नेपालका लागि पाकिस्तानका राजदूत अब्रार एच हासमीले राष्ट्रिय झण्डोत्तोलन गरेका थिए । कार्यक्रममा दूतावासका अधिकारीहरू, नेपालस्थित पाकिस्तानी समुदाय, उनीहरूका परिवार तथा पाकिस्तानका शुभेच्छुकहरूको सहभागिता रहेको दूतावासले जनाएको छ ।
कार्यक्रममा पाकिस्तानका राष्ट्रपति आसिफ अलि जर्दारी, प्रधानमन्त्री मोहम्मद शहबाज शरीफ र उपप्रधानमन्त्री तथा विदेशमन्त्री सिनेटर मोहम्मद इसहाक डारलेका सन्देश वाचन गरिएको थियो ।

राष्ट्रपति जरदारीले आफ्नो सन्देशमा ‘मार्का–ए–हक’ ले पाकिस्तानको प्रतिरोध क्षमता केवल नारामा सीमित नभई व्यावसायिक दक्षता, त्रि–सेवा समन्वय तथा राष्ट्रिय संकल्पमा आधारित रहेको विश्वसामु प्रमाणित गरेको बताएका थिए । उनले देशका लागि जीवन बलिदान गर्ने सहिदहरूप्रति श्रद्धाञ्जली व्यक्त गरेका थिए ।
प्रधानमन्त्री शहबाज शरीफले ‘यौम–ए–मार्का–ए–हक’ लाई पाकिस्तानले चुनौतीका बीच देखाएको साहस र शत्रुमाथि हासिल गरेको विजयको स्मरण दिवसका रूपमा व्याख्या गरेका थिए । उनले स्थल, समुद्र, आकाश तथा साइबर क्षेत्रमा पाकिस्तानी सुरक्षाकर्मीहरूको समन्वित भूमिकाले पाकिस्तानलाई “अजेय राष्ट्र” का रूपमा स्थापित गरेको उल्लेख गरेका थिए ।

उपप्रधान तथा परराष्ट्रमन्त्री इशाक दरले दक्षिण एसियामा दीर्घकालीन शान्तिका लागि जम्मु तथा काश्मिर मुद्दाको संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्का प्रस्ताव तथा स्थानीय जनताको आकांक्षाअनुसार समाधान आवश्यक रहेको बताएका थिए । उनले पाकिस्तान क्षेत्रीय शान्ति, संवाद र कूटनीतिक समाधानप्रति प्रतिबद्ध रहेको उल्लेख गरे ।
राजदूत हाश्मीले आफ्नो मन्तव्यमा पाकिस्तानको सार्वभौमसत्ता र भौगोलिक अखण्डताको रक्षाका लागि सशस्त्र बलले देखाएको साहस, त्याग र तत्परताको प्रशंसा गरेका थिए । उनले ‘मार्का–ए–हक’ पाकिस्तानको राष्ट्रिय एकता, दृढता र संकल्पको प्रतीक भएको उल्लेख गर्दै “सार्वभौमसत्ताको रक्षाका सवालमा आकारभन्दा शक्ति र संकल्प महत्वपूर्ण हुने” बताएका थिए ।











प्रतिक्रिया