एसईईको नतिजा मंगलबार भित्र


काठमाडौँ ।

राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा मंगलबार भित्र सार्वजनिक गर्ने तयारी गरेको छ । बोर्डका अनुसार आवश्यक सम्पूर्ण तयारी पूरा भइसकेकाकाले मंगलबारसम्म नतिजा सार्वजनिक गर्ने तयारी भइरहेको बोर्डले जनाएको छ।

बोर्डकी सूचना अधिकारी लक्ष्मी मरासिनीले भनिन्, ‘सबै तयारी पूरा भइसकेको छ । प्राविधिक रूपमा कुनै समस्या नआए २ दिनभित्र नतिजा प्रकाशित गर्छौं ।’
यस वर्षको एसईई परीक्षा गत चैतको दोस्रो सातादेखि सञ्चालन भएको थियो ।

परीक्षा सम्पन्न भएको करिब एक महिनाभित्रै नतिजा सार्वजनिक गर्ने तयारी बोर्डले गरेको हो । यस वर्ष ५ लाख १२ हजार ४ सय २१ जना परीक्षार्थी सहभागी भएका थिए । तीमध्ये नियमिततर्फ ४ लाख ४१ हजार ५ सय ६६ जनाले र ग्रेड वृद्धितर्फ ७० हजार ८ सय ५५ जनाले परीक्षा दिएका थिए ।

परीक्षा दिनेमा छात्राको सङ्ख्या बढी छ । यस वर्ष दुई लाख ५७ हजार ६ सय १३ छात्रा, दुई लाख ५४ हजार ८ सय १ छात्र र अन्य सात जना परीक्षामा सहभागी भएका छन् । जसमा जापानको एक परीक्षा केन्द्रबाट २३ जनाले परीक्षा दिएका थिए ।