मकवानपुर ।
मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ लामबगरस्थित सिस्नेरी–दक्षिणकाली सडक खण्डमा ईभी गाडी दुर्घटना हुँदा ९ जना भारतीय नागरिक घाइते भएका छन्। घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार सोमबार राति करिब ११ः१० बजे काठमाडौंबाट हेटौँडातर्फ आउँदै गरेको बा.प्र.०१–०३३ च ५२५८ नम्बरको ईभी गाडी ब्रेक फेल भएर सडकको दाहिनेपट्टिको भित्तामा ठोक्किँदा दुर्घटना भएको हो। दुर्घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी खानिखेत र प्रहरी चौकी सिस्नेरीबाट प्रहरी टोली खटिएको थियो।
गाडीमा चालकसहित ११ जना सवार रहेकोमा ९ जना भारतीय र २ जना नेपाली नागरिक रहेका थिए। प्रहरीका अनुसार गम्भीर घाइते हुनेहरूमा भारतको बिहार, दरभंगाका ६० वर्षीय राम विनय झा, ७० वर्षीया निर्मला देवी र ५५ वर्षीया अनिता देवी रहेका छन्।
उनीहरूलाई तत्काल उपचारका लागि काठमाडौं पठाइएको थियो। यस्तै ५६ वर्षीया प्रझा देवी, ५२ वर्षीया रुद्र कुमारी झा र ७४ वर्षीय छत्रधर चौधरी मध्यम घाइते भएका छन्। अन्य घाइतेहरूको पनि उपचार भइरहेको प्रहरीले जनाएको छ। ईभी चालक धनुषाको लक्ष्मीनिया नगरपालिका–४ निवासी करिब ३० वर्षीय पिन्टु सिंह प्रहरी नियन्त्रणमा रहेका छन्।
अर्का नेपाली सवार २२ वर्षीय असान साफी सामान्य अवस्थामा आफैं घर फर्किएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार मंगलबार बिहान १ः३० बजेसम्म सबै ९ जना घाइतेहरूको ललितपुरस्थित अल्का अस्पतालमा उपचार भइरहेको छ। दुर्घटनापछि सडक अवरुद्ध नभएको र दुर्घटनाग्रस्त गाडी घटनास्थलमै रहेको प्रहरीले जनाएको छ











प्रतिक्रिया