खराब प्रदर्शनमा रहेको रियल मेड्रिडमा कुटाकुट


काठमाडौं ।

रियल मेड्रिड विश्वको प्रतिष्ठित फुटबल क्लबमध्ये एकमा पर्दछ । साथै रियल मेड्रिड युरोपियन क्लबस्तरको सबैभन्दा ठूलो प्रतियोगिता यूईएफए च्याम्पियन्स लिगमा इतिहास रचेको टोलीसमेत हो । रियल मेड्रिडले च्याम्पियन्स लिगमा सर्वाधिक १५ उपाधि जितेर इतिहास रचेको छ ।

यही रियल पछिल्ला केही सिजनदेखि नराम्रो दौरमा रहेको छ । पछिल्ला सिजन र यस सिजनमा रियलले कुनै पनि उपाधि जित्न सकेको छैन । पेरिस सेन्ट जर्मेन (पीएसजी) बाट केलियन एम्बाप्पेलाई टोलीमा आबद्ध गरेपनि उपाधि हात पार्न सकेको छैन ।
अहिले नराम्रो खेलभन्दा पनि कुटाकुटको खबरले रियल मेड्रिडको चर्चा रहेको छ । ड्रेसिङ रुममा खेलाडीबीचको झगडाले यो टोली अहिले छताछुल्ल भएको खबरहरू आइरहेको छ । स्रोतको अनुसार रियलको ड्रेसिङ रूममा कोही कसैसँग बोलिरहेका छैनन्, केवल एक अर्कामाथि हार र खराब प्रदर्शनको आरोप प्रत्यारोप लागिरहेको छ ।

विभिन्न सञ्चार माध्यमले जनाएअनुसार अभ्यासका क्रममा एउटा खेलाडीले अर्कोलाई प्रहार गरिरहेका छन् । स्पेनी मिडियाअनुसार गत बुधबार अभ्यासको समयमा फेडेरिको भेल्भर्डे र ओरेलिन चुआमेनीबीच भनाभन र कुटाकुट भएको थियो । जसले गर्दा भेल्भेर्डेको टाउकोमा चोट लागेको र उनलाई अस्पतालमा उपचारका लागि लगिएको थियो ।

भेल्भेडे«ले वादविवादमा उनको टाउको अकस्मात टेबलमा ठोक्किएको बताएका थिए । यसविषयमा टोलीका कप्तान डानी कार्भायल, प्रशिक्षक अल्भारो अर्बेलोआ तथा कोचिङका पदाधिकारीसँग रियलका अध्यक्ष फ्लोरेटिनो पेरेजले एक आपतकालीन बैठक पनि आयोजना गरेका थिए ।

यस बैठकले उरुग्वेका भल्भेड्रे र फ्रान्सका चुआमेनीलाई अनुशासन कारवाही गरिने निर्णय लिएको थियो । साथै, भल्भेड्रेको चोट गम्भीर भएको हुँदा उनलाई १० देखि १४ दिन आराम गराउने निर्णय भएको थियो । यस्तै, कारवाही स्वरूप यी दुई खेलाडीलाई एक अर्कासँग माफी माँग्ने र जनही ५ लाख युरो जरिवाना गराएको थियो ।

रियलमा स्टार खेलाडी हुँदा पनि यस्तो भएको अनुमान लगाइरहेको पनि छ । स्टार खेलाडी जतिले आफूलाई जे ठीक लाग्छ, त्यही गर्ने सोच रहेको क्लबका एक खेलाडीले बताएका थिए । मिडियामा उनको नाम भने खुलाएको थिएन । उनका अनुसार एमबाप्पे, भिनिसियस जुनियर जस्ता खेलाडी आफ्नै पथमा छन् ।

प्रशिक्षक अर्बेलोआले पनि रियलका खेलाडीहरूलाई ठिक ठाउँमा राख्न नसकेको आरोप आइरहेको छ । खबरअनुसार उनी लाचार छन् । उनको कुरा कसैले सुनिरहेका छैनन् । यदि, प्रशिक्षकको कुरा नै नसुन्ने हो भने त्यस टोलीका खेलाडी अनुशासित नभएको प्रष्ट्याउँछ । अर्को, टोलीलाई एक गर्न नसक्दा उनको क्षमतामाथि पनि प्रश्न चिह्न तेर्सिएको छ ।

रियल मेड्रिडबारे एक तथ्य
–सन् १९०२ मा स्थापित भएको रियल मेड्रिड स्पेनी ला लिगाको एक सफल क्लब हो । यस क्लबमा विश्वकै सुपरस्टार खेलाडीले खेलेको इतिहास छ । जस्तै, राउल, क्रिस्टियानो रोनाल्डो, डेभिड बेकहाम, जिनेदिन जिदान, काका, गेरेथ बेल, एम्बाप्पे, भिनियस जुनियर आदि हुन् ।

–क्लबका लागि सर्वाधिक गोल पोर्चुगलका क्रिस्टियानो रोनाल्डोले गरेका छन् । उनले सबै प्रतिस्पर्धामा गरी ४ सय ५० गोल गरेका हुन् । एउटै सिजनमा सर्वाधिक गोल गर्ने सूचीमा समेत उनी शीर्ष ५ वटै स्थानमै रहेका छन् ।

–स्पेनी ला लिगा (स्पेनको शीर्ष लिग) उपाधि ३६ पटक जितेको । पछिल्लो पटक २०२३–२४ सिजनमा जितेको । यस सिजनमा पनि रियल ला लिगा उपाधिबाट लगभग बाहिरिसकेको छ । आज राति रियलले बार्सिलोनासँग खेल्दैछ ।

–कोपा डेल रे (स्पेनीस कप) उपाधि २० पटक जितेको । पछिल्लो पटक २०२२–२३ सिजनमा जितेको ।
–यूईएफए च्याम्पियन्स लिग १५ पटक जितेको । पछिल्लो पटक २०२३–२४ सिजनमा जितेको ।
–अन्यमा फिफा क्लब वल्र्डकप, फिफा इन्टरकन्टिनेन्टल कपको उपाधि पनि जितेको ।