काठमाडौँ।
नेपाली प्रहरीका प्रमुख (आइजीपी) दानबहादुर कार्कीले नेपालको जटिल भूगोल र अव्यवस्थित सडक संरचनाका कारण सवारी दुर्घटना बढ्दै गएको बताएका छन् ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको सातौँ राष्ट्रिय महाधिवेशनमा उनले जटिल भुगोल र देशभर जथाभावी निर्माण गरिएका सडक तथा कमजोर इन्जिनियरिङ संरचनाले दुर्घटनाको जोखिम थप बढाएको बताएका हुन् । उनले नेपालमा सवारी दुर्घटनाबाट हुने मानवीय क्षति अत्यन्त दुःखद् बन्दै गएको भन्दै दैनिक औसतमा आठ जनासम्मको मृत्यु हुने अवस्था सिर्जना हुनु गम्भीर चिन्ताको विषय भएको बताए ।
कार्कीले सवारी दुर्घटना राज्य, व्यवसायी, मजदुर युनियन तथा सम्पूर्ण नागरिकको साझा चिन्ताको विषय भएको उल्लेख गर्दै यसलाई न्यूनीकरण गर्न सबै पक्ष जिम्मेवार बन्नुपर्ने बताए । उनले यातायात व्यवसायीको महाधिवेशनले पनि दुर्घटना न्यूनीकरणका लागि स्पष्ट मार्गनिर्देशन र दिशा तय गर्नुपर्ने बताए । उनकाअनुसार पछिल्ला वर्षहरूमा जलवायु परिवर्तनको प्रभावका कारण नेपालमा बाढी, पहिरो तथा मनसुनजन्य विपद् बढ्दै गएका छन्, जसले सवारी दुर्घटनाको जोखिम थप बढाएको छ ।
विशेषगरी चाडपर्वको समयमा भएका ठूला दुर्घटनाले मानवीय क्षतिसँगै राष्ट्रलाई ठूलो आर्थिक नोक्शानी पनि व्यहोर्नुपरेको छ ।आइजीपी कार्कीले दुर्घटनाका कारण केवल मानवीय कमजोरी मात्र नभई इन्जिनियरिङ पक्ष पनि उत्तिकै जिम्मेवार रहेको बताए ।
गाउँ–गाउँमा योजनाविहीन रूपमा डोजर प्रयोग गरेर बनाइएका सडकले दुर्घटना निम्त्याएको उल्लेख गर्दै उनले यस्ता सडकको प्राविधिक गुणस्तर तथा वातावरणीय प्रभावको गम्भीर समीक्षा आवश्यक रहेको बताए । जलवायु परिवर्तन, कमजोर सडक संरचना, लापरवाही, अज्ञानता र कानूनी कार्यान्वयनको कमजोरीलाई दुर्घटनाका प्रमुख कारणका रूपमा औंल्याउँदै सुरक्षित यातायात प्रणाली निर्माणमा राज्यले दीर्घकालीन नीति अवलम्बन गर्नुपर्नेमा उनको जोड थियो ।











प्रतिक्रिया