तिलगंगा आँखा प्रतिष्ठान र बीपीकेआइएचएसबीच सहकार्य सम्झौता


काठमाडौँ।

तिलगंगा आँखा प्रतिष्ठान र बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान बीच विभिन्न शैक्षिक, अनुसन्धान तथा स्वास्थ्य सेवा सम्बन्धी क्षेत्रमा सहकार्य गर्ने उद्देश्यले सम्झौतापत्रमा हस्ताक्षर गरिएको छ।

सम्झौताअनुसार दुवै संस्थाबीच शिक्षण गतिविधि, संयुक्त अनुसन्धान परियोजना, शैक्षिक कार्यक्रम तथा व्यावसायिक क्षमता अभिवृद्धि लगायतका क्षेत्रमा संस्थागत आदानप्रदानलाई प्रवर्द्धन गरिनेछ। यस सहकार्यले दुवै संस्थाबीच शैक्षिक, अनुसन्धान तथा सेवा प्रवाहलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ।

सम्झौताअनुसार तिलगंगा आँखा प्रतिष्ठानका प्राध्यापकहरूले बीपीकेआइएचएसमा नियमित रूपमा आँखासम्बन्धी विभिन्न उपविशेषज्ञ सेवा अन्तर्गत ओपीडी तथा शल्यक्रिया सञ्चालन गर्नेछन्। साथै प्राध्यापक तथा रेसिडेन्टहरूका लागि शैक्षिक कक्षासमेत सञ्चालन गरिनेछ।

त्यसैगरी, आरओपी स्क्रिनिङ, उपविशेषज्ञ शल्यक्रिया तथा लेजर सम्बन्धी तालिम प्रदान गरिनेछ। क्लिनिकल तथा सामुदायिक आँखा स्वास्थ्यका क्षेत्रमा बीपीकेआइएचएसलाई सहकार्यात्मक अनुसन्धान केन्द्रका रूपमा समावेश गर्दै संयुक्त अनुसन्धान कार्यक्रम सञ्चालन गरिनेछ।

सम्झौताअनुसार बीपीकेआइएचएसका रेसिडेन्टहरूलाई विभिन्न उपविशेषज्ञ क्लिनिकहरूमा क्लिनिकल पोस्टिङको व्यवस्था गरिनेछ। साथै, दुवै संस्थाका प्राध्यापकहरूबीच क्षमता अभिवृद्धि तालिम, चिकित्सकीय शिक्षा कार्यक्रम तथा पूर्वी क्षेत्रका अन्य आँखा अस्पतालहरूको सहभागितामा विभिन्न कार्यक्रमहरू सञ्चालन गरिनेछ।

यसैगरी आँखा जाँच शिविर तथा शल्यक्रिया शिविरहरू पनि आयोजना गरिने जनाइएको छ।

प्रतिष्ठानमा आयोजित सम्झौतापत्र हस्ताक्षर तथा आदानप्रदान कार्यक्रममा डा. सन्दुक रुइट र डा. विक्रम प्रसाद श्रेष्ठ ले आ–आफ्ना संस्थाका तर्फबाट हस्ताक्षर गर्नुभएको थियो।

यस सहकार्यले दुवै संस्थाबीच दीर्घकालीन शैक्षिक, अनुसन्धान तथा सेवा साझेदारीलाई थप प्रभावकारी बनाउने विश्वास लिइएको छ।