एक दशकसम्म पनि बनेनन् तीन आकासे पुल


काठमाडौँ ।

काठमाडौँको बल्खु तथा ललितपुरको सानेपा र महालक्ष्मीस्थानमा निर्माणाधीन तीन आकासे पुल ठेक्का सम्झौता भएको करिब एक दशक बित्दा पनि सम्पन्न हुन सकेका छैनन्। २०७४ सालमा सम्झौता भएका यी पुलहरूको म्याद आठ पटक थपिसकिएको छ भने नवौँ पटक थप्ने तयारी भइरहेको छ।

हालसम्म पुलहरूको भौतिक प्रगति करिब ७० प्रतिशत पुगेको छ। सम्बन्धित निकायका अनुसार रेलिङलगायतका सामग्री निर्माण भइरहेको र असार महिनाभित्र काम सम्पन्न गर्ने लक्ष्य राखिएको छ। यद्यपि पटक–पटक म्याद थपिँदा पनि काम पूरा नहुँदा सार्वजनिक पूर्वाधार निर्माणमा रहेको सुस्त कार्यशैली र कमजोर नियमनप्रति प्रश्न उठेको छ।

विशेषज्ञहरूले ठेकेदार कम्पनीलाई समयमै काम सम्पन्न गराउन नसक्नु र राजनीतिक प्रभावका आधारमा म्याद थप्ने प्रवृत्तिले पूर्वाधार विकास प्रभावित भएको बताएका छन्।