काठमाडौं ।
विश्व स्वास्थ्य संगठनले हालै सार्वजनिक गरेको प्रतिवेदनले विश्वव्यापी रूपमा गम्भीर चिन्ताजनक अवस्था उजागर गरेको छ । प्रतिवेदनअनुसार विश्वका झन्डै ९९ प्रतिशत मानिसहरू असुरक्षित स्तरको वायु प्रदूषणमा श्वास फेर्न बाध्य छन्, जसले जनस्वास्थ्यमा ठूलो जोखिम निम्त्याइरहेको छ ।
यो विश्वव्यापी संकटको प्रभाव नेपालमा झन् गहिरो रूपमा देखिएको छ । विशेषगरी काठमाडौं, विराटनगर र पोखराजस्ता सहरहरूमा वायु प्रदूषण र जलवायु परिवर्तनको संयुक्त असरले जनस्वास्थ्यमा ‘मल्टिपल’ संकट सिर्जना गरिरहेको विज्ञहरू बताउँछन् ।
काठमाडौंको ‘विषालु’ हावा
पछिल्लो समय काठमाडौं उपत्यकाको वायु गुणस्तर निरन्तर खस्किँदै गएको छ । सन् २०२५ मा केही दिन एक्यूआई ४०० भन्दामाथि पुग्दै विश्वकै सबैभन्दा प्रदूषित सहरमध्ये एक बनेको तथ्य सार्वजनिक भएको छ ।
राजधानीको कचौराजस्तो भौगोलिक बनावट, सवारी साधनबाट निस्कने धुवाँ, निर्माण कार्यबाट उत्पन्न धूलो र सुक्खा मौसममा लाग्ने डढेलो मुख्य कारणका रूपमा देखिएका छन् । यी कारणले प्रदूषित हावा बाहिरिन नसक्दा उपत्यकामा ‘स्मोग’ जम्ने समस्या झन् गम्भीर बनेको छ । वायु प्रदूषणले श्वासप्रश्वाससम्बन्धी रोगमात्र होइन, मुटु रोग, क्यान्सर र स्ट्रोकजस्ता दीर्घरोगको जोखिम पनि बढाउने विश्व स्वास्थ्य संगठनको अध्ययनले देखाएको छ ।
बढ्दो स्वास्थ्य जोखिम
वायु प्रदूषणका कारण नेपालमा हरेक वर्ष हजारौं मानिसको अकाल मृत्यु हुने अनुमान छ । ‘स्टेट अफ ग्लोबल एयर २०२५’ प्रतिवेदनअनुसार नेपालमा वार्षिक करिब ४१ हजार मानिसको मृत्यु वायु प्रदूषणसँग सम्बन्धित कारणले हुने गरेको उल्लेख छ । यस्तै, घरभित्रको धुवाँ पनि ग्रामीण क्षेत्रका लागि ठूलो समस्या बनेको छ । परम्परागत चुल्हो, दाउरा र जैविक इन्धन प्रयोगका कारण महिलाहरू र बालबालिका बढी जोखिममा परिरहेका छन् ।
जलवायु परिवर्तनको अर्को गम्भीर प्रभाव भनेको रोगको भौगोलिक फैलावट हो । तापक्रम वृद्धिसँगै डेंगु र मलेरियाजस्ता लामखुट्टेजन्य रोगहरू तराईबाट पहाड तथा हिमाली क्षेत्रमा समेत फैलिन थालेका छन् ।
लामो मनसुन, अनियमित वर्षा र अव्यवस्थित सहरीकरणले पानी जम्ने स्थान बढाउँदा लामखुट्टे प्रजननका लागि अनुकूल वातावरण बनेको छ ।
यसले आगामी वर्षहरूमा रोगको जोखिम अझ बढ्ने संकेत दिएको छ । वायु प्रदूषणले शारीरिकमात्र होइन, मानसिक स्वास्थ्यमा पनि असर पारिरहेको अध्ययनहरूले देखाएका छन् । प्रदूषित वातावरणमा लामो समय बस्दा तनाव, डिप्रेसन र संज्ञानात्मक समस्या बढ्न सक्ने निष्कर्ष विभिन्न अन्तर्राष्ट्रिय अनुसन्धानले निकालेका छन् ।
विज्ञहरूका अनुसार वायु प्रदूषण र जलवायु परिवर्तन अलग–अलग समस्या होइनन्, यी दुवै एकअर्कासँग जोडिएका छन् । जीवाश्म इन्धनको प्रयोग, उद्योग र सवारी साधनबाट हुने उत्सर्जनले एकैसाथ वायु प्रदूषण र हरितगृह ग्यास वृद्धि गरिरहेको छ ।
यसकारण समाधान पनि एकीकृत रूपमा खोज्नुपर्ने आवश्यकता औंल्याइएको छ– जस्तै स्वच्छ ऊर्जा, हरित यातायात, सहरी योजना सुधार र वन संरक्षण । नेपाल अहिले वायु प्रदूषण, जलवायु परिवर्तन र कमजोर सार्वजनिक स्वास्थ्य प्रणालीको त्रिपक्षीय दबाबमा छ । यदि, समयमै प्रभावकारी नीति र कार्यान्वयन भएन भने यो संकट अझ गहिरिँदै जाने निश्चित छ ।
स्वच्छ हावा मानव अधिकारको आधारभूत पक्ष भएकाले सरकार, निजी क्षेत्र र नागरिक सबैले मिलेर दीर्घकालीन समाधानतर्फ अग्रसर हुनुपर्ने देखिन्छ ।











प्रतिक्रिया