–वैशाख २८ देखि बहुउद्देश्यीय भवनमा बैठक
–जेठ १५ को बजेट नयाँ सभाकक्षबाट प्रस्तुत गरिने
काठमाडौं ।
गत वर्ष भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनका क्रममा नयाँ बानेश्वरस्थित संघीय संसद् भवन परिसरमा आगलागी भएपछि प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदन अस्थायी व्यवस्थामार्फत सञ्चालन हुँदै आएका छन् ।
लामो समयसम्म स्थायी सभाकक्ष अभाव झेलेको संसद् अब भने सिंहदरबारभित्र निर्माणाधीन नयाँ संसद् भवनतर्फ सर्ने तयारीमा पुगेको छ ।
सिंहदरबारस्थित बहुउद्देश्यीय भवनको निर्माण कार्य अन्तिम चरणमा पुगेपछि यही वैशाख २८ गतेदेखि सुरु हुने संघीय संसद्को बजेट अधिवेशन नयाँ संरचनाबाट सञ्चालन गर्ने तयारी गरिएको संसद् सचिवालयले जनाएको छ । यद्यपि, प्रारम्भिक बैठक भने हाल प्रयोग हुँदै आएको बहुउद्देश्यीय हलमै बस्नेछ ।
संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार जेठ १५ गते संविधानअनुसार प्रस्तुत गर्नुपर्ने आगामी आर्थिक वर्ष २०८३÷८४ को बजेट भने नयाँ प्रतिनिधिसभा सभाकक्षबाट प्रस्तुत गर्ने गरी तयारी भइरहेको छ । उहाँले भन्नुभयो– ‘सम्बन्धित निर्माण पक्षले जेठ १५ सम्ममा प्रतिनिधिसभाको नयाँ सभाकक्ष हस्तान्तरण गर्न सकिने जानकारी दिएको छ । हामी पनि नयाँ भवनबाट संसद् सञ्चालन गर्ने तयारीमा छौं ।’
गत निर्वाचनपछि संसद्को पहिलो बैठक, सांसदहरूको शपथग्रहण तथा विभिन्न संसदीय गतिविधि सिंहदरबारस्थित बहुउद्देश्यीय हलमा अस्थायी संरचना निर्माण गरेर सञ्चालन गरिएको थियो । आगलागीपछि नयाँ बानेश्वरस्थित पुरानो संसद् भवन पूर्ण रूपमा प्रयोगयोग्य नरहेपछि सरकारले वैकल्पिक व्यवस्थामार्फत संसद् चलाउँदै आएको थियो ।
सिंहदरबारभित्र रहेको पुतली बगैंचा क्षेत्रमा निर्माणाधीन संघीय संसद् भवन नेपालकै महत्वपूर्ण सरकारी पूर्वाधार परियोजनामध्ये एक हो । करिब १ सय ७३ रोपनी क्षेत्रफलमा फैलिएको यो परियोजनाको लागत ६ अर्ब रुपियाँभन्दा बढी पुग्ने अनुमान गरिएको छ ।
भवनभित्र प्रतिनिधिसभा र राष्ट्रियसभाका छुट्टाछुट्टै सभाकक्ष, संसदीय समितिका कार्यालय, संसदीय दलका कार्यालय, बैठक हल, प्रशासनिक संरचना तथा सुरक्षासम्बन्धी सुविधा रहने गरी १२ वटा ब्लक निर्माण भइरहेका छन् । संसद् सचिवालयका अनुसार भवन आधुनिक प्रविधियुक्त, सुरक्षा दृष्टिले संवेदनशील तथा भूकम्प प्रतिरोधी डिजाइनमा निर्माण भइरहेको छ ।
यो भवन निर्माणको ठेक्का तुँदी सेक ज्वाइन्ट भेन्चरले पाएको थियो । निर्माण कार्य २०७६ असोज १ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेपछि सुरु भएको थियो । प्रारम्भिक लक्ष्यअनुसार केही वर्षमै भवन सम्पन्न गर्ने योजना भए पनि निर्माणको गति सुस्त हुँदा पटक–पटक म्याद थप्नुपरेको छ ।
आगामी बजेट अधिवेशनलाई लक्षित गर्दै संसद् परिसरको सुरक्षा व्यवस्थासमेत कडा बनाइएको छ । संसद् सचिवालय र गृह मन्त्रालयले संयुक्त रूपमा सुरक्षा प्रबन्धको पुनरावलोकन गरिरहेका छन् । नयाँ भवनमा डिजिटल प्रवेश प्रणाली, आधुनिक निगरानी क्यामेरा, अग्नि नियन्त्रण संयन्त्र तथा आपत्कालीन उद्धार संरचना जडान गरिने तयारी गरिएको छ ।
संसद् सचिवालयका एक अधिकारीका अनुसार नयाँ भवन पूर्ण रूपमा सञ्चालनमा आएपछि प्रतिनिधिसभा र राष्ट्रियसभामात्र होइन, संसदीय समितिहरू तथा सांसदका कार्यालयसमेत एउटै परिसरमा रहनेछन् । यसले संसदीय कामकारबाहीलाई व्यवस्थित र प्रभावकारी बनाउने अपेक्षा गरिएको छ ।
यद्यपि, निर्माण सम्पन्न हुने समयसीमा पटक–पटक सर्दै गएकाले नयाँ संसद् भवन समयमै पूर्ण रूपमा सञ्चालनमा आउला वा नआउला भन्ने प्रश्न अझै कायम छ । निर्माण ढिलाइसँगै लागतसमेत बढ्दै गएको भन्दै आलोचना भइरहेको छ ।
राजनीतिक वृत्तमा पनि संसद् भवन निर्माणलाई सरकारको कार्यक्षमता र सार्वजनिक खर्च व्यवस्थापनसँग जोडेर हेरिएको छ । संसद् जस्तो संवेदनशील संस्थाको स्थायी संरचना निर्माणमै वर्षौं ढिलाइ हुनु राज्य संयन्त्रको कमजोर योजना र कार्यान्वयनको उदाहरण भएको टिप्पणी हुन थालेको छ ।
तर, संसद् सचिवालय भने यसपटक कम्तीमा प्रतिनिधिसभाको मुख्य सभाकक्ष सञ्चालनमा ल्याएर आगामी बजेट नयाँ भवनबाट प्रस्तुत गर्ने लक्ष्यमा केन्द्रित रहेको बताउँछ । यदि, निर्माण कार्य समयमै सम्पन्न भयो भने नेपालको संघीय संसद्ले पहिलोपटक आफ्नै स्थायी आधुनिक भवनबाट पूर्ण रूपमा कामकाज सञ्चालन गर्नेछ ।











प्रतिक्रिया