काठमाडौंमा शनिबार र आइतबार ६९७ घरटहरामा डोजर चल्दै

वर्षौंदेखि बसेका स्थानीयको घर भत्कँदै

0
Shares

–वडा अध्यक्षको हारगुहार, जिप्रका काठमाडौं मौन
–प्राविधिकसहितको टोली फिल्डमा

काठमाडौं ।

सरकारले भोलि शनिवार आइतबार राजधानीका ४ स्थानमा डोजर चलाउने भएको छ । त्यसमा ५ दशकदेखि एउटै स्थानमा बस्दै आएका करिब ५० घरपरिवारको घर भत्काइने भएको छ । खोला किनार, पर्ती र सार्वजनिक जग्गामा बसोबास गर्नेको घरटहरा भत्काउने जनाए पनि काठमाडौं महानगरपालिका–३ खाडीटोलमा वर्षौंदेखि बसोबास गरिरहेका स्थानीयको घरसमेत भत्कने भएको छ ।

उच्च स्रोतका अनुसार घर भत्कने सूचीमा कामपा–३ का वडा सदस्य शर्मिला परियारको घरसमेत पर्ने भएको छ । यस्तै नारायणटोल र र संगमटोलमा समेत वर्षांैदेखि बसोबास गरिरहेकाहरूको घरमा डोजर चल्ने भएको छ । तथ्याङ्कअनुसार शनिवार वडा नं २६ रानीबारी चोकको–२६२, वडा नं–३ बसुन्धरा शिक्षण अस्पताल पछाडि–१९८, वडा नं २६ बसपार्क मितेरीपुल नजिक संगमटोल आसपास–३७ र वडा नं–३ खाडीपाखा, नारायणटोल र रानीबारी–२०० घरमा दुई दिनभित्र डोजर चल्ने भएको छ ।

जिल्ला प्रशासन कार्यालय, काठमाडांै उपत्यका विकास प्राधिकरण, वागमती सभ्यता एकीकृत विकास समिति र काठमाडौं महानगरपालिकाको टोलीले हिजो बिहीबारबाट डोजर चल्ने स्थान खाली गर्न माइकिङ सुरु गरेको छ । वसुन्धरा क्षेत्रको रिङरोड सानोपुलदेखि दक्षिणपश्चिम बग्ने खोल्सी हुँदै सामाखुसी खोलामा मिलनबिन्दु भएको स्थानसम्म खाली गर्न अनुरोध गर्दै माइकिङ गरेको छ ।

रानीबारी सामाखुसी क्षेत्र, खाडीपाखा, टिचिङ अस्पताल पछाडिको क्षेत्र हँुदै ओरालो र भिरालो जमिनमा वर्षौंदेखि सरकारी, सार्वजनिक र पर्तीजग्गामा घरटहरा बनाई बसोबास गरिरहेका सबैलाई तत्काल घर खाली गर्न सूचना जारी गरेको छ ।

शनिवार बिहान अवैध, अनधिकृत र अतिक्रमित संरचनामा रहेका महत्वपूर्ण कागजात, लत्ताकपडालगायतका सामग्री तत्काल हटाउन निर्देशन गरिएको छ । सूचनामा भनिएको छ– सशक्त, सुत्केरी, बिरामी, ज्येष्ठ नागरिकलाई मद्दत चाहिएमा तत्काल सम्पर्क गर्र्नुहुन अनुरोध छ ।

ती स्थानमा वर्षौंदेखि मुद्दा, परेका परमादेश जारी गरेका घर टहरामा जोडर चलाउने कि नचलाउने ? भन्ने विषयमा हिजो र आज फिल्डमा गएका टोलीले निर्णय गर्ने सूचनामा उल्लेख छ । सरकारको विस्थापन नभई व्यवस्थापन गर्ने नीतिअनुसार आवश्यक परेका जनतालाई आफ्नो नाम टिपाउन दशरथ रंगशालामा पुग्नसमेत आग्रह गरिएको छ ।

सूचना पाएलगत्तै खोला किनारामा घरटहरा बनाएर बस्ने सबैले धमाधम सामान सार्न सुरु गरेका छन् । यसैबीच आफ्नै वडा सदस्यको घर भत्कने भएपछि कामपा–३ का अध्यक्ष प्रेम थापासहितको टोलीले वर्षौंदेखि खाडीपाखामा बसिरहेका वडा सदस्य शर्मिला परियारसहितको घर नभत्काउन जिल्ला प्रशासन कार्यालय र कामपामा ध्यानाकर्षणपत्र बुझाएका छन् ।

पत्रमा उल्लेख भएको विषयवस्तुभन्दा पनि घर टहरा खाली गर्ने सरकारी नियम मान्न आफू बाध्य भएको जानकारी काठमाडौंका प्रजिअ पौडेलले गर्नुभएको थियो । वडाअध्यक्ष थापाले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘पुस्तौंपुस्तादेखि बसिरहेका व्यक्तिको घरमा डोजर चलाउन हुँदैन ।

त्यस विषयमा कामपा र प्रजिअलाई पत्र पठाएका छौं ।’ उहाँले सो क्षेत्रमा झण्डै ५० बढी घर रहेको बताउनुभयो । उहाँले भन्नुभयो– ‘जायजेथा छाडेर उहाहरू कहाँ जाने ? ५ दशकदेखि बसेकालाई यो स्थानबाट लखेट्न कदापि मिल्दैन ।’ उहाँले घर टहरा खाली गर्ने विषयमा निरन्तर छलफल भइरहेको जानकारी दिनुभयो ।

प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशनमा खोलाकिनारा र सार्वजनिक र पर्ती जगगामा बनेका संरचना हटाउने निर्णयबाट सरकार पछि नहट्ने संकेत देखिएको छ । सरकारले शनिवार र आइतबार सार्वजनिक जग्गा खाली गर्ने योजना बनाएको छ । यसअघि विष्णुमती र वागमती सुकुम्बासी बस्ती र नदी आसपास क्षेत्रका बस्तीमा डोजर चलाएको छ ।

शनिवार बिहान स्वयम्भू क्षेत्रबाट डोजर चलाएको थियो । त्यसपछि बालाजु र माछापोखरी क्षेत्रको अतिक्रमित बस्तीमा डोजर चलाएको हो । सरकारले अनामनगर धाबीखोला किनार, टेकु, शंखमूख, बल्खु, वंशीघाट, थापाथली, गैरीगाउँ, मनोहरालगायत क्षेत्रका सुकुम्बासी बस्ती हटाएको थियो ।

सरकारले वैशाख १६ गतेबाट खोला किनाराको अवैध बस्ती खाली गर्ने अभियान सुरु गरेको थियो । काठमाडौं महानगरपालिका, तारकेश्वर, शंकरापुर, नागार्जुन, बूढानीलकण्ठ, चन्द्रागिरि, कीर्तिपुर, टोखा र कागेश्वरीमनोहरा नगरपालिका क्षेत्रका अतिक्रमित बस्ती खाली गर्न लागेको हो ।