–गण्डकी प्रदेशका प्रमुख सचिव घिमिरे निलम्बनमा
काठमाडौं ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको भ्रष्टाचारमा पूर्वमन्त्री, २ जना सचिव, सहसचिवलगायत १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
अख्तियारले पोखरा विमानस्थलको अर्को भ्रष्टाचार प्रकरणमा पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, पूर्व अर्थसचिव शंकरप्रसाद अधिकारी, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका तत्कालीन सचिव महेश्वर न्यौपानेसमेत १३ जना र निर्माण कम्पनीलाई विपक्षी बनाउँदै बिहीबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
पूर्वमन्त्री, सचिव तथा कर्मचारीको मिलेमतोमा विभिन्न समयमा कर, महसुल र अन्य शुल्कमा छुट दिँदा तीन अर्ब ६२ करोड पाँच लाख २२ हजार १६० रुपियाँ हानिनोक्सानी पु¥याएको अख्तियारको ठहर छ ।
अख्तियारले उनीहरूसँग त्यही रकम बराबरको बिगो दाबी गरी मुद्दा दायर गरेको हो ।
यस्तै, अर्थ मन्त्रालयका तत्कालीन सहसचिव केवलप्रसाद भण्डारी, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका तत्कालीन सहसचिव सुरेश आचार्य र तत्कालीन सहसचिव डण्डुराज घिमिरे तथा नेपाल नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक सञ्जीव गौतमलाई विपक्षी बनाइएको छ ।
हाल गण्डकी प्रदेशको प्रमुख सचिव रहेका घिमिरे मुद्दा दायर भएसँगै निलम्बनमा पर्नुभएको छ ।
यसै गरी, नागरिक उड्डयन प्राधिकरणअन्तर्गतको राष्ट्रिय गौरवको आयोजनाका तत्कालीन निर्देशक प्रदीप अधिकारी, नागरिक उड्डयन मन्त्रालयका तत्कालीन इलेक्ट्रोनिक्स इन्जिनियर योगेश अर्याल, अर्थ मन्त्रालयका तत्कालीन उपसचिव युगराज पाण्डे र तत्कालीन शाखा अधिकृत उर्मिला भण्डारीविरुद्ध पनि मुद्दा दायर गरिएको छ ।
अख्तियारका अनुसार पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको क्रममा मूल सम्झौताको प्रावधानविपरीत ठेकेदार कम्पनीलाई कर छुट दिएर आर्थिक अनियमितता गरेको पाएकाले मुद्दा दर्ता गरिको अख्तियारका सहायक प्रवक्ता गणेशबहादुर अधिकारीले जानकारी दिनुभयो ।
पोखरा विमानस्थल निर्माणका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण र निर्माण कम्पनी चाइना सीएएमसी इन्जिनियरिङबीच भएको खरिद सम्झौतामा ‘कन्ट्रयाक्ट प्राइस’ भित्रै कर, महसुल तथा अन्य शुल्क समावेश गरी त्यस्ता कर, महसुल तथा अन्य शुल्क निर्माण कम्पनीले नै प्रचलित नेपाल कानुनबमोजिम तिर्न बुझाउनेपर्ने प्रावधान रहेको छ ।
तर, त्यसविपरीत निर्माण कम्पनीलाई कर, महसुल र तथा अन्य शुल्कमा छुट दिएको पाइएको अख्तियारको अभियोगपत्रमा उल्लेख छ ।
यसमा अख्तियारले तत्कालीन अर्थमन्त्री कार्की, तत्कालीन अर्थ सचिव अधिकारी र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका तत्कालीन सचिव न्यौपानेलाई विपक्षी बनाएको छ ।
अख्तियारले पोखरा विमानस्थल निर्माण कम्पनी चाइना सीएएमसी इन्जिनियरिङ, कम्पनीका अध्यक्ष वाङ बु र प्रोजेक्ट म्यानेजर याङ जिगाङलाई पनि विपक्षी बनाएको छ ।
यसअघि आठ अर्ब भ्रष्टाचारमा तानिएका थिए पाँच मन्त्री र १० सचिवसहित ५५ जना
यसअघि गत मंसिर २१ मा अख्तियारले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा आठ अर्ब ३६ करोड ७३ लाख ५५ हजार २९७ रुपियाँ ५० पैसा भ्रष्टाचार गरेको आरोपमा पाँच जना पूर्वमन्त्री र १० जना पूर्वसचिवसहित ५५ जनाविरुद्ध मुद्दा दायर गरेको थियो ।
त्यसरी मुद्दा दायर गरिएका पूर्व मन्त्रीहरूमा तत्कालीन पर्यटन मन्त्रीहरू पोस्टबहादुर बोगटी, रामकुमार श्रेष्ठ, भीमप्रसाद आचार्य, दिपकचन्द्र अमात्य तथा तत्कालीन अर्थमन्त्री डा. रामशरण महत रहनुभएको थियो ।
त्यस क्रममा आर्थिक लागत बढाउन स्वीकृति दिने पूर्व अर्थमन्त्रीदेखि चिनियाँ कम्पनी र उक्त कम्पनीका दुई कर्मचारीलाई पनि प्रतिवादी बनाइएको थियो । विमानस्थल निर्माणको स्वीकृत लागत अनुमान १६ करोड ९६ लाख ९७ हजार अमेरिकी डलर रहेकोमा अस्वाभाविक रूपमा मूल्य बढाई संशोधन गरेको पाइएको अख्तियारको दाबी थियो । संशोधन गरेर २४ करोड ४० लाख ४० हजार ४५० रुपियाँ अमेरिकी डलर कायम गरिएको थियो ।
लागत बढाएर भ्रष्टाचार गरेको अख्तियारको ठहर थियो । यसरी बढाएको लागतको औचित्य पुष्टि नहुने भन्दै अख्तियारले ५५ जना विरुद्ध मुद्दा दायर गरेको थियो । त्यो मुद्दा विशेष अदालतमा विचाराधीन छ । अहिले फेरि अर्को ३ अर्ब बढीको मुद्दा दायर गरेको हो ।











प्रतिक्रिया