आत्मनिर्भर भविष्यतर्फ महिला उद्यमशीलताको यात्रा

1.03k
Shares

महिला उद्यमशीलता आज केवल आम्दानीको स्रोत मात्र होइन, यो सामाजिक रुपान्तरण, आर्थिक सशक्तीकरण र आत्मसम्मानको आन्दोलन बनेको छ । परम्परागतरुपमा घरधन्दासम्म सीमित मानिदै आएको महिलाको भूमिका अहिले उद्योग, व्यापार, प्रविधि, कृषि, सेवा र नवप्रवर्तनका क्षेत्रमा प्रभावशालीरुपमा विस्तार हुँदै गएको छ । आत्मनिर्भर भविष्य निर्माण गर्ने यात्रामा महिला उद्यमशीलता एक सशक्त आधारस्तम्भका रुपमा उभिएको छ ।

शिक्षा चेतना र सूचना प्रविधिको पहुँचसँगै महिलामा आफ्नो क्षमतामाथि विश्वास बढ्दै गएको छ । सीप, ज्ञान र सिर्जनाशीलतालाई व्यवसायमा रुपान्तरण गर्ने सोचले महिलालाई रोजगार खोज्ने होइन, रोजगार सिर्जना गर्र्ने दिशातर्फ अग्रसर गराएको छ । साना घरेलु, उद्योगदेखि लिएर मध्यम तथा ठूला उद्यमसम्म महिलाको सक्रिय सहभागिता बढ्दै जानु आत्मनिर्भर भविष्यको स्पष्ट संकेत हो ।

महिला उद्यमशील चेतनाको उदय केवल आर्थिक क्रियाकलापको विस्तार होइन, यो दीर्घकालीन सामाजिक रुपान्तरणको संकेत हो । परम्परागतरुपमा घर–परिवारको सीमाभित्र सीमित गरिँदै आएको महिलाको भूमिकामा आएको यो चेतनामूलक परिवर्तनले महिलालाई आफ्नो क्षमता, अधिकार र सम्भावनाका नयाँ पहिचान दिलाएको छ । आज महिला उद्यमशीलता बाध्यताबाट जन्मिएको विकल्प होइन, चेतनापूर्ण छनोट र आत्मसम्मानको अभिव्यक्ति बनेको छ । शिक्षाको विस्तारले महिलाको सोचमा निर्णायक भूमिका खेलेको छ ।

औपचारिक तथा अनौपचारिक शिक्षामार्फत महिलामा केवल ज्ञानमात्र होइन, आत्मविश्वास र आलोचनात्मक सोच पनि प्राप्त भएको छ । यसैसँग सूचना तथा सञ्चार प्रविधिको पहुँचले महिलालाई विश्वव्यापी अनुभव, सफलताको कथा र बजारको ज्ञानसँग जोडेको छ । यसले म सक्छु भन्ने विश्वासलाई व्यावहारिक सम्भावनामा रुपान्तरण गरेको छ । महिला उद्यमशील चेतनाको उदयको अर्को महत्वपूर्ण पक्ष आत्मपहिचान हो । महिलाले अब आफूलाई केवल आश्रित भूमिका होइन, उत्पादनशील शक्ति र निर्णायककर्ताको रुपमा हेर्न थालेका छन् ।

महिलाको आर्थिक निर्भरता आजको समाजमा केवल आयआर्जनसँग सीमित विषय होइन, यो शक्ति पहिचान र सामाजिक न्यायसँग गाँसिएको गहिरो अवधारणा हो । जब महिला आफ्नै श्रम, सीप र क्षमताबाट आर्थिक रुपमा आत्मनिर्भर बन्छिन् तब उनको जीवनमा मात्र होइन परिवार, समुदाय र समग्र समाजमा नै परिवर्तनको लहर शुरु हुन्छ । आर्थिक आत्मनिर्भरता महिलाको मौन आवाजलाई सशक्त अभिव्यक्ति दिन सक्षम माध्यम हो ।

घरायसी खर्चदेखि, बालशिक्षा, स्वास्थ्य, पोषण, भविष्यको योजना निर्माणसम्म महिलाको भूमिका निर्णायक हुन्छ । यसले पारिवारिक संरचनामा सन्तुलन ल्याउँछ । जहाँ महिलालाई सहयोगी मात्र होइन, बराबरी साझेदारका रुपमा स्वीकार गरिन्छ, यस्तो स्वीकार्यताले सामाजिक सम्बन्धलाई सम्मान, समझदारी र सहकार्यतर्फ उन्मुख गराउँछ । महिलाको आर्थिक सबलीकरणले सामाजिक मूल्य र मान्यतामा प्रत्यक्ष प्रभाव पार्छ । आर्थिक रुपमा सक्षम महिला सामाजिक छलफलमा सहभागी हुन्छिन् ।

यसले परम्परागत लैंगिक भूमिकालाई चुनौती दिँदै महिलालाई सार्वजनिक जीवनको केन्द्रमा ल्याउँछ । नतिजास्वरुप समाजमा लैंगिक समानताको चेतना मजबुत हुँदै जान्छ । आर्थिक आत्मनिर्भरता हिंसा र शोषणविरुद्धको महत्वपूर्ण कवच पनि हो । आर्थिक निर्भरता र धेरै महिलाका लागि मौन सहनशीलताको कारण बन्दै आएको छ । जब महिलासँग आफ्नै आम्दानी र स्रोत हुन्छ तब उनी अन्यायपूर्ण व्यवहारविरुद्ध आवाज उठाउन, विकल्प रोज्न र सुरक्षित भविष्य निर्माण गर्न सक्षम हुन्छन् ।

यस अर्थमा आर्थिक आत्मनिर्भरता महिलाको गरिमा र सुरक्षाको आधार हो । डिजिटल प्रविधिले महिला उद्यमशीलताको नयाँ ढोका खोलेको छ । अनलाइन, सामाजिक सञ्जालमार्फत मार्केटिङ, डिजिटल भुक्तानी प्रणाली र घरबटै सञ्चालन गर्न सकिने व्यवसायले महिलालाई समय र स्थानको सीमाबाट मुक्त गरिरहेको छ । नवप्रवर्तनशील सोच र प्रविधिको सदुपयोगले महिलालाई विश्वव्यापी बजारसम्म पु¥याउने सम्भावना बढाएको छ ।

महिला उद्यमशीलताको यात्रा प्रेरणादायी मात्र होइन, चुनौतीले भरिएको गहिरो संघर्षको कथा पनि हो । उद्यम शुरु गर्ने निर्णय आफैंमा साहसको प्रतीक भए पनि त्यसलाई निरन्तरता दिने क्रममा महिलाले सामना गर्नुपर्ने कठिन मोडहरु बहुआयामिक छन् । यी मोडहरु व्यक्तिगत सीमाभन्दा पर गएर सामाजिक संरचना, आर्थिक प्रणाली र मानसिकतासँग गाँसिएका छन् ।

यद्यपि महिला उद्यमशीलताको यात्रा भने सहज छैन । पुँजी र वित्तीय पहुँचको कमी, धेरै महिलासँग आफ्नो नाममा सम्पत्ति नहुनु, बैंक तथा वित्तीय संस्थामा विश्वासको कमी, सामाजिक पूर्वाग्रह, पारिवारिक जिम्मेवारीको बोझ, बजार पहुँच र व्यवस्थापन सीपको कमीजस्ता कठिनाइले उद्यम शुरु गर्ने बाटोमै रोकावट सिर्जना गर्छ, यसले महिलाको उद्यमशील सोचलाई व्यवहारमा उतार्न कठिन बनाउँछ, चाहे उनीसँग सीप र योजना कति नै स्पष्ट किन नहोस् ।

सामाजिक, सांस्कृतिक पूर्वाग्रह अर्को चुनौती हो । उद्यम व्यवसाय पुरुषको देन हो भन्ने सोच अझै पनि समाजमा विद्यमान छ । महिलाले व्यापारमा कदम राख्दा क्षमताभन्दा बढी प्रमाण मागिने, निर्णय क्षमतामाथि प्रश्न उठाइने र पारिवारिक भूमिकालाई प्राथमिकतामा राख्न दबाब दिइने अवस्था देखिन्छ । यस्तो मानसिकताले महिलाको आत्मविश्वासलाई बारम्बार परीक्षा लिन्छ ।

बजार पहुँच, नेटवर्किङ र प्रविधिमा सीमितता अर्को चुनौतीका रुपमा देखा पर्छ । बजारको जानकारी, आपूर्ति, शृङ्खला र ग्राहकसम्म पुग्ने अवसरमा महिलाको पहुँच सीमित हुनु प्रतिस्पर्धामा कमजोर बनाउने कारक हुन् । विशेष गरी ग्रामीण क्षेत्रका महिलाले भौगोलिक दूरी र प्राविधिगत अभावका कारण थप कठिनाइ भोग्नुपरिरहेको छ । यी सबै कठिन मोडहरुका बाबजुद महिलाको उद्यमशील यात्रा रोकिएको छैन । बरु यी चुनौतीहरुकै बीच महिलाले धैर्य, सिर्जनशीलता र सामूहिक सहयोगको बलमा नयाँ बाटो कोर्र्र्दै आएका छन् ।

महिला उद्यमशीलताको यात्राका कठिन मोडहरु महिलाका कमजोरी होइनन्, समाज र प्रणालीका अपूर्णताको प्रतिविम्ब हुन् । यी मोडहरु पार गर्दै अगाडि बढ्ने उद्यमी महिलाको संघर्ष नै आत्मनिर्भर भविष्यको सबल आधार हो ।

महिलाको उद्यमशीलतालाई थप उचाइमा पु¥याउन राज्य, नीति, सार्वजनिक क्षेत्र र नागरिक समाजको भूमिका अत्यन्त महत्वपूर्ण छ । सहुलियतपूर्ण कर्जा, सीपमूलक तालिम, बजारसँग जोड्ने कार्यक्रम, प्रविधिमा पहुँच र कानुनी संरक्षणले महिलाको उद्यमशील यात्रालाई थप सबल बनाउन सक्छ । विशेष गरी ग्रामीण तथा सीमान्तकृत महिलालाई लक्षित कार्यक्रमले समावेशी विकासलाई गति दिन्छ ।

महिला उद्यमशीलताको दिगो विकास केवल व्यक्तिगत प्रयासबाट सम्भव हुँदैन । यसका लागि राज्यका नीतिहरु, वित्तीय संरचना र संस्थागत संयन्त्रहरुले महिलामैत्री वातावरण सिर्जना गर्नै पर्छ । नीतिगत सहयोग र संस्थागत भूमिकाले महिलाको उद्यमशील यात्रालाई सुरक्षित, विश्वासिलो र विस्तारयोग्य बनाउँछ ।

उद्यमशीलताका नीतिहरु कागजमा सीमित नभई व्यवहारमा लागू हुने खालको हुनुपर्छ । महिलालाई उद्यमतर्फ आकर्षित गर्न सहुलियतपूर्ण कर्जा, कम ब्याजदर, जमानतविना ऋण र अनुदानमा आधारित कार्यक्रम प्रभावकारी हुनुपर्छ । कर छुट, दर्ता प्रक्रियामा सरलता र महिलामैत्री कानुनी व्यवस्था नीतिगत सहयोगका आधारभूत पक्ष हुन् । त्यसै गरी महिला उद्यमीलाई लक्षित सीपमूलक तालिम, व्यवसाय व्यवस्थापन शिक्षा र वित्तीय साक्षरता कार्यक्रम अनिवार्यरुपमा नीतिको हिस्सा बन्नुपर्छ ।

नीति बानाउँदा ग्रामीण, सीमान्तकृत र न्यून आय भएका महिलाको अवस्था विशेषरुपमा सम्बोधन गरिनु जरुरी छ । बैंक, सहकारी, माइक्रो फाइनान्स, उद्योग वाणिज्य संघ, गैरसरकारी संस्था र स्थानीय तहले महिला उद्यमशीलताको मेरुदण्डका रुपमा काम गर्नुपर्छ । वित्तीय संस्थाले महिलालाई जोखिम होइन, सम्भावनायुक्त लगानीकर्ताका रुपमा हेर्नुपर्छ ।

महिलाका लागि विशेष अनुगमन संस्थागत दायित्व हुनुपर्छ । संस्थाले केवल आथर््िाक सहयोग मात्र होइन, सामाजिक चेतना अभिवृद्धिमा पनि भूमिका खेल्नुपर्छ । महिला उद्यमीका सफल कथालाई उजागर गर्ने, नेटवर्किङ प्लेटफर्म सिर्जना गर्ने, पुरुष र महिला सहकार्यलाई प्रोत्साहन गर्ने कामले समाजको दृष्टिकोण परिवर्तन गर्न सहयोग पु¥याउँछ । महिला उद्यमशीता विकासका लागि नीतगत सहयोग आधारशिला हो भने संस्थागत भूमिका त्यसको मजबुत स्तम्भ हो ।

जब नीति समावेशी, व्यावहारिक र उत्तरदायी हुन्छ, संस्थाहरु सहयोगी र संवेदनशील बन्छन् तब महिला उद्यमशीलता बाध्यता होइन, सम्भावनाको मार्ग बन्छ । महिला उद्यमशीलता केवल महिलाको मुद्दा होइन, यो राष्ट्रिय विकासको आधार हो । आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि महिलाको उद्यमशील क्षमतालाई पहिचान, सम्मान र प्रोत्साहन गर्न जरुरी छ । जब महिलाले आफ्ना सपना उद्यममा रुपान्तरण गर्छिन् तब त्यो सपना केवल व्यक्तिगत सफलता नभई समृद्ध समाजको आधार बन्छ ।

अन्ततः आत्मनिर्भर भविष्यतर्फ महिला उद्यमशीलताको यात्रा साहस, संघर्ष र सम्भावनाले भरिएको यात्रा हो । यो यात्रा अझै मजबुत बनाउन हामी सबै परिवार, समाज, राज्य र नीति निर्माताले महिलालाई साथ दिनुपर्छ । किनकि जब महिला आत्मनिर्भर हुन्छिन् तब भविष्य स्वयं आत्मनिर्भर बन्छ ।