विन्ध्यवासिनी म्युजिक अवार्डको १६ औँ संस्करणमा प्रदान गरिने विभिन्न सम्मान तथा पुरस्कारको घोषणा गरिएको छ।
बिन्ध्यवासिनी फाउण्डेसनको हालै बसेको सल्लाहकार समिति तथा कार्य समितिको संयुक्त बैठकले मुक्तिनाथ विकास बैंकको प्रस्तुति रहने रमपम विन्ध्यवासिनी म्युजिक अवार्ड २०८२ मा सम्मानित र पुरष्कृत हुनेको नाम घोषणा गरेको हो।
समारोहमा संगीतकार शम्भुजीत बास्कोटालाई एक लाख रुपैया“ नगद र सम्मानपत्रसहित विन्ध्यवासिनी म्युजिक लाइफटाइम अचिभमेन्ट अवार्ड २०८२ बाट सम्मानित गरिने भएको छ। त्यसै गरी ५० हजार रुपैया“ नगद र सम्मानपत्रसहित यसपटकको बिन्ध्यवासिनी संगीत साधना सम्मान २०८२ बाट गीतकार विजय शिवाकोटी र २५ हजार रुपैया“ नगद र सम्मानपत्रसहित पत्रकार पवन आचार्यलाई विन्ध्यवासिनी कला पत्रकारिता सम्मान २०८२ बाट सम्मानित गरिने भएको छ।
विन्ध्यवासिनी फाउण्डेसनका सल्लाहकार तथा नेपाली संगीत क्षेत्रका शिखर पुरुष गायक स्व. प्रेमध्वज प्रधानप्रति श्रद्धासुमनसहित उनको नाममा रहेको प्रेमध्वज संगीत रत्न सम्मानबाट यो वर्ष २५ हजार रुपैया“ नगद र सम्मानपत्रसहित गायिका रचना रिमाललाई सम्मानित गरिने भएको छ भने लोक गायक झलकमान गन्धर्वको नाममा स्थापित झलकमान लोक–संगीत सम्मान २०८२ बाट,२५ हजार रुपैया“ नगद र सम्मानपत्रसहित लोक दोहोरी गायक पशुपति शर्मालाई सम्मान गरिने छ।
यस वर्षबाट अवार्डको विधा घटाई अवार्ड समारोहलाई चुस्त बनाइने विन्ध्यवासिनी फाउण्डेसनकी अध्यक्ष लीना रेग्मीले जानकारी गराएकी छन्। उनका अनुसार यस वर्षबाट पब्लिक च्वाइस अवार्डसमेत गरी जम्मा ११ विधामा मात्र अवार्ड प्रदान गरिनेछ। यसै वर्षबाट विजेतालाई प्रोत्साहित गर्नका लागि हरेक विधाको अवार्डमा ट्रफीसहित ५ हजार रुपिया“ नगदसमेत प्रदान गरिने लीनाले जानकारी गराइन्। विन्ध्यवासिनी म्युजिक अवार्डको १६औं संस्करण आगामी चैत्र २७ गते राष्ट्रिय नाचघर जमलमा आयोजना गरिने अवार्डका सञ्चालक सुवास रेग्मीले जानकारी गराएका छन्। उनका अनुसार कार्यक्रममा विभिन्न गीत संगीत र नृत्य प्रस्तुति प्रस्तुत गरिनेछ।











प्रतिक्रिया